Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

प्रेम विवाह गरेका श्रीमान मुटुरोगले बितेपछि मानसिक सन्तुलन गुमाएकी फुरदिकु काठको खोरमा

उपचारमा सात लाख सकियो, खर्च अभावले उपचार रोकियो

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुको श्रीमान (दाजाङ शेर्पा) को तीन वर्षअघि मुटु रोगका कारण मृत्यु भयो ।

श्रीमानको मृत्युपछि छ वर्षीय छोरा पसनुरी शेर्पालाई लिएर पुनः माइती घर नुनथला फर्किएकी फुरदिकु गत माघ ३ गतेदेखि आफै बिरामी परेकी छन् । मानसिक रोगले ग्रसित फुरदिकुलाई अहिले परिवारका अन्य सदस्यले माइती घर अगाडि काठको खोर बनाएर त्यसभित्र राखेका छन् । काठ प्रयोग गरेर बाख्रा तथा सुँगुरका लागि बनाइने खोरजस्तो ठाउँमा राखिएकी फुरदिकुलाई परिवारका अन्य सदस्यले त्यही ठाउँमा खाना खाने र सुत्ने व्यवस्था मिलाइ दिएका छन् । बुबा पेमाछेतर र आमा निम्ले शेर्पाकी जेठी छोरी फुरदिकुलाई गत माघ १६ गतेदेखि खोरमा राखिएको छिमेकीले बताएका छन् ।

manashik-khotang.webp

घर छाडेर हिँड्ने, गालीबेइज्जत बोल्ने तथा आफ्नो अगाडि देखा परेका जोकोही मानिसमाथि जाइलाग्ने व्यवहार देखाउन थालेपछि छोरी फुरदिकुलाई नियन्त्रण गर्न खोरभित्र राख्नुपरेको बुबा पेमाछेतरले बताएका छन् । ‘फुरदिकु १६ वर्षकै उमेरदेखि मानसिक रोगी थिइन् । उनलाई दुई वर्षअघि पाटन अस्पताल काठमाडौँमा लगेर समेत उपचार गरियो । दुई महिना पाटन अस्पताल राखेर ल्याएपछि ठीक भएको थियो’, उनले भने, ‘उनीलाई पुनः सोही प्रकृतिको बिरामी बल्झिएको छ । उनीलाई सम्झाएर नियन्त्रण गर्न नसक्ने अवस्था छैन । बिगार गर्न नदिनका लागि खोरमा राख्न बाध्य भएका छौँ । उसको उपचारमा रु सात लाखभन्दा बढी खर्च भइसक्यो । आम्दानीको स्रोत छैन । पुनः उपचार गर्न पाएको खण्डमा ठीक हुन्छ भन्ने लाग्छ । तर, हामीसँग खर्च छैन । कसैको सहयोग पाए उपचारमा लैजान्थ्यौँ ! छोरी हो । माया लाग्छ! तर, बाध्य भएर खोरमा राख्नुपरेको छ ।’

आमा फुरदिकुलाई खोरभित्र राखिएपछि कक्षा–३ मा अध्ययनरत छोरा पसनुरीको हेरचाह बाजेरबजूले गर्दै आएका छन् । बुबाआमाको रेखदेख तथा हेरचाह आवश्यक पर्ने अवस्थामा बुबाको मृत्यु तथा आमा बिरामी भएपछि छ वर्षीय बालक (पसनुरी) को भविष्य अन्यौलमा परेको देखिएको छ ।

फुरदिकुलाई गत माघ २१ गतेदेखि जिल्ला अस्पताल खोटाङबाट मानसिक रोगसम्बन्धीको औषधि खरिद गरेर सेवन गराइरहेको आमा निम्लेले बताएकी छन् । ‘औषधि खाएको केही समयसम्म ठीक हुन्छ । औषधिले काम गर्न छाड्ने बित्तिकै मनलाग्दी बोल्छ । बेसुरमा गीत गाउँछ । आफ्नो अगाडि मान्छे आएको देख्नासाथ मुखमा जे आउँछ त्यही बोल्छ । गाउँमा बसिएको छ । आफन्तहरु आउँछन् । उनीहरुलाई बसिसक्नु दिँदैनन्’, उनले भनिन्, ‘फकाएर औषधि सेवन गराएपछि होसमा आएको समयमा खाना तथा खाजा माग्छ । खाना तथा खाजा राम्ररी खान्छ । बाहिर निकाल्यो भने हिँडिहाल्छ ! यसअघि पनि तीन-चार दिनसम्म हराएपछि खोजी गरेर ल्याएका थियौँ । उसको गोठाला गरेर बसौँ घर खेती गर्नुपर्छ ! नगरौँ सबै थोक बित्छ ।’

KedarMagar_Khotang_RSS_13_PhurdikulaiRakhiyakoKhorKhotang1.webp

सामान्य घरखेतीबाट परिवार चलाउँदै आएका शेर्पा दम्पतीलाई जेठी छोरी फुरदिकुमा देखिएको समस्याले झनै समस्या भएको छिमेकी दोर्जे शेर्पाले बताइन् । ‘पाँच सन्तानका बुबा-आमा पेमाछेतर र निम्लेलाई ठूलो समस्या आइलागेको छ । छिमेकमा बसेका हामीले गर्नसक्ने भनेको अर्मपर्म हो । त्यस्तो सहयोगले उनीहरुको समस्या समाधान हुनेवाला छैन’, उनले भनिन्, ‘पेमाछेतर र निम्लेलाई परेको समस्यामा सरकारको ध्यान जान जरुरी छ । उपचार अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउनु हुँदैन । यसप्रति स्थानीय सरकार गम्भीर हुनुपर्छ ।’

विसं २०६६ मा नुनथलास्थित जालपा माध्यमिक विद्यालय नुनथलाबाट प्रवेशिका उत्तीर्ण गरेकी फुरदिकुलाई सुरुमा धामीझाँक्री समेत लगाइएको पारिवारिक स्रोतले जनाएको छ । विसं २०५० साउन १५ गते जन्मनुभएकी फुरदिकुमा देखिएजस्तो लक्षण यसअघि बुबा पेमाछेतर र आमा निम्लेलाई समेत देखिएको र उनीहरुको समस्या विस्तारै ठीक भएको जनाइएको छ ।