Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

‘महाजात्रा’ टिजरमा पैसा लुकाउने तनाव

आगामी चैत ९ गते रिलिज हुने फिल्म ‘महाजात्रा’को टिजर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मको टिजरमा प्रमुख तीन कलाकार विपिन कार्की, रवीन्द्रसिंह बानियाँ र रवीन्द्र झाको पैसा लुकाउने संघर्षलाई देखाइएको छ ।

टिजरमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, हरिवंश आचार्य, राजाराम पौडेल र शिशिर वाङ्देललाई स्थान दिइएको छ । टिजरमा तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गरेको दृश्य छ ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने फिल्ममा हाँसो र रोदनको मिश्रण छ । फिल्मकै विदेश प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टका लागि छत्र थापाले खरिद गरिसकेका छन् । उनले विदेशमा नेपालमा घोषणा गरिएको मितिमा प्रदर्शन हुने बताए ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ । फिल्मको निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल छन् ।

यसमा जितबहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशक, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल संगीतकार, शमशेर लामा शृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर, अनिल खड्का मुख्य सहायक निर्देशक रहेका छन् ।