Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेस महासमिति बैठक

गगनले अडान नछोडेपछि देउवाले बोलाए पदाधिकारी बैठक, प्रतिवेदन सच्याउने प्रयास

चार प्रतिवेदन तयार, महामन्त्रीकोमा सहमति खोजिंदै

महासमिति बैठक उद्घाटन भइसक्दा पनि धेरै विषयमा सहमति जुटाउन नसक्दा महामन्त्रीहरूको राजनीतिक दस्तावेज तयार पार्न नसकेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक डाकेका छन् ।

बैठक देउवा निवास बुढानीलकण्ठमा अपराह्न हुने उनीनिकट स्रोतले जानकारी दिएको छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेका राजनीतिक प्रस्तावमा देउवाको असहमति छ । थापाले प्रस्तावमा उल्लेख गरेको चुनावी गठबन्धनसम्बन्धी विषय र शर्माको प्रस्तावमा रहेको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको सन्दर्भ हटाउनुपर्ने अडानमा देउवा छन् ।

तर दुवै महामन्त्रीले यी विषयलाई प्रस्तावबाट हटाउन अस्वीकार गरेपछि कांग्रेसभित्र राजनीतिक प्रस्तावहरू सहमतिमै तयार पार्ने विषय थप पेचिलो बन्दै गएको छ । कांग्रेसले तयार पारेको कार्यतालिकाअनुसार मंगलबार बिहान ९ बजे बस्ने महासमिति बैठकमा सबै प्रस्तावहरू पेश गर्नुपर्नेछ ।

तर अहिलेसम्म पनि सहमति नजुटेपछि सहमतिको उपाय खोज्न देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । यसअघि महामन्त्रीहरू थापा र शर्मासँग भएका एक्लाएक्लै छलफलमा सहमति जुट्न सकेको थिएन । यस्तै, बैठकमा विवादित महासमिति सदस्यका बारेमा पनि छलफल हुने देउवा निकट स्रोतले बताएको छ । काठमाडौं ३, ओखलढुंगा र दोलखामा महासमिति सदस्यको विवाद छ ।

चार प्रतिवेदन तयार, महामन्त्रीकोमा सहमति खोजिंदै
नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा मंगलबार विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।

मंगलबार बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा. प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

महामन्त्री थापाले पेस गर्ने सांगठनिक प्रतिवेदनमा देखिएको विवाद समाधानको प्रयास भइरहेको छ । सोमबार सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीचको छलफल बिनानिष्कर्ष टुंगिएको छ । पेस गर्नुअघि प्रतिवेदनमा समेटिएको चुनावअघि गठबन्धन नगर्ने शब्द हटाउन सभापति देउवाले प्रयास गरिरहेका छन् ।