Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

कसरी गर्ने सरस्वती पूजा?

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
  
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ ।

आजको दिन विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्। उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भीड लाग्दछ।

सरस्वती स्त्रोत्रम्

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।

प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।

नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।

द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।

कसरी गर्ने पूजा?

बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुस् ।

पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनुस्। प्रसादमा पहेंलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउनुस्।

अनि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नुस्। पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् ।

माताको प्रतिमाअघि उभिएर तल लेखिएका श्लोक उच्चारण गर्दा स्मरण शक्ति बढ्छ अनि सबै मनोकामनाहरू पूरा हुन्छन्।