सिन्धुपाल्चोकको चौतारा–साँगाचोक गढी नगरपालिकाले भोलि फागुन १ गते सार्वजनिक बिदा दिएको छ । माओवादी ‘जनयुद्ध’ दिवसको अवसरमा नगरपालिकाले भोलिको लागि सार्वजनिक बिदा दिएको हो ।
नगर प्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सूचना मार्फत जनाएका छन् । माओवादी केन्द्रले चुनाव जितेको नगरपालिकामा कृष्णप्रसाद सापकोटा मेयर छन् ।
सर्वोच्च अदालतले फागुन १ गतेको बिदा खारेज गरे पनि स्थानीय तहले आफूखुसी बिदा दिएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाले पनि भोलिको लागि सार्वजनिक बिदा दिएको छ । गृहमन्त्रालयले भने भोलि बिदा नभएको भन्दै सोमवार सूचना प्रकाशित गरेको थियो ।