Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

बालेनलाई मन्त्री गुरुङको जवाफः निर्माण नसकिंदै धरहरामा पार्किङ गर्न मिल्दैन

‘तीन तलामुनि नागरिक जाँदा अक्सिजनको मात्रा मिलेन भने जिम्मेवार को हुन्छ?’

सरकारले धरहरा निर्माण सम्पन्न नभई पार्किङ गर्न नमिल्ने स्पष्ट पारेको छ । आज सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले निर्माण सम्पन्न नभई धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम भएको बताइन् । उनले आफूखुशी नगर्न महानगर प्रमुख बालेन्द्र शाहलाई सचेत समेत गराइन् । मन्त्री गुरुङले बालेनले समन्वय र सम्पर्क नै नगरेको भन्दै यसरी गए राम्रो नहुने चेतावनी दिएकी हुन् ।

‘एक महिना पर्खेको भए राम्रो हुन्थ्यो, समन्वय र सम्पर्क नगर्ने । यसमा सरकार जिम्मेवार हुन सक्दैन,’ उनले भनिन्, ‘अहिलेसम्म प्राथमिकतामा उहाँहरूले राख्नु भएको छैन । उहाँहरू यसरी गए राम्रो हुँदैन ।’ उनले धरहराको निर्माण नसकिँदै पार्किङका लागि प्रयोग गरिएको बताइन् । निर्माण नसकिँदै पार्किङ गर्न नमिल्ने उनले दोहोर्‍याइन् ।

मन्त्री गुरुङले निर्माण नै सम्पन्न नभएकाले महानगरले मान्ने-नमान्ने प्रश्न नै नभएको पनि बताइन् । ‘महानगरले मान्ने नमान्ने हुन्न । निर्माण सम्पन्न भएको छैन, बिल भुक्तानी कसले गर्ने ?हामीले पनि जनताका लागि गरेको हो,’ उनले थपिन्, ‘लामो समय लागेको सत्य हो । तर, निर्माण सम्पन्न हुन दिनुपर्छ । समन्वय आवश्यक छ ।’

अहिले बत्ती नै जडान नभएको तथा अग्नि नियन्त्रणको काम पनि नभएकाले प्रयोग गर्न नहुने उनको भनाइ छ । ‘तीन तलामुनि नागरिक जाँदा अक्सिजनको मात्रा मिलेन भने जिम्मेवार को हुन्छ ?’ उनको प्रश्न छ । सोमबार बिहान मात्र बालेनले सामाजिक सञ्जालबाट महानगरलाई धरहरा प्रयोग नगर्न पत्र आएको बताउँदै आक्रोश पोखेका थिए । उनले सरकारको पत्र कार्यान्वयन नगर्ने पनि बताएका थिए । काठमाडौँ महानगरले व्यापारिक क्षेत्र न्युरोडमा सवारी पार्किङ निषेध गरी धरहरा र काठमाडौँ भ्यू टावरमा पार्किङको व्यवस्था मिलाएको थियो ।