Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

बाँसबारीको जग्गा हिनामिना प्रकरणमा अरु पनि तानिन सक्छन्ः सीआईबी

‘बाँसबारी छाला उद्योगको शेयर अरुण चौधरीले ३६ लाखमा किनेको देखियो’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता उद्योगको १० रोपनी जग्गा हिनामिना प्रकरणमा अरु व्यक्ति पनि अनुसन्धानमा तानिन सक्ने बताएको छ । चौधरी (सीजी) ग्रुप सीजी होल्डिङ्गसका अध्यक्ष, प्रबन्ध निर्देशक अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापालाई पक्राउ गरिएकोबारे आज शुक्रबार पत्रकार सम्मेलन गर्दै सीआईबीका प्रवक्ता एवम् एसएसपी नवराज अधिकारीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गर्न तीन महिना लागेको जानकारी दिएका छन् ।

सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो । बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिकरूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो । छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । प्रति रोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको र च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाख मात्र देखिएको सीआईबीको दाबी छ ।

२५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँमात्र पर्ने भए पनि बाँसबारीले २६ लाख रूपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको सीआईबीको भनाइ छ । ‘चुक्ता पुँजीलाई ५० लाखबाट एक करोड पुर्‍याइएपछि बाँकी अरु पक्षबाट ७४ लाख रूपैयाँ लगानी हुनुपर्नेमा जम्मा ८ लाख मात्र लगानी भएको पाइयो । त्यसमा पनि कम्पनीले ३ वर्षसम्म उत्पादन गरेको देखिन्छ’, सीआईबीका एसएसपी दिनेश आचार्यले भने । उनले लामो समयसम्म अनुसन्धान गरेर आफूहरु निष्कषर््मा पुगेको भन्दै शंका नगर्न आग्रह गरे ।