Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

अभिनेता हरिवंश आचार्य नेता बनेपछि ‘महाजात्रा’

काठमाडौं । फिल्म ‘महाजात्रा’को केही समयअघि सार्वजनिक फस्टलुकमा अभिनेता हरिवंश आचार्यलाई ह्वीलचेयरमा बन्धक बनाई फिल्मका प्रमुख तीन पात्र विपिन कार्की, रविन्द्रसिंह बानियाँ र रविन्द्र झाले डोहोर्‍याइरहेको देखाइएको थियो । त्यो फस्टलुकले हरिवंशको चरित्र कस्तो छ भन्ने फिल्मकर्मी र दर्शकमाझ चासो बढायो ।  

फिल्मको टिमले सार्वजनिक गरेको नयाँ पोस्टरमा हरिवंशका कारणले विपिन, रविन्द्र र रविन्द्रको हातमा हतकडी लगाएको देखाइएको छ । फिल्मका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रविन्द्रका अनुसार फिल्ममा हरिवंश नेताको भूमिकामा छन् ।

‘फिल्ममा हरि दाई नेताका भूमिकामा हुनुहुन्छ । उहाँको कारण हामी तीनजनाले हतकडी लगाएका हौं’, रविन्द्र भन्छन्, ‘तर के कारणले हामी हतकडी लगाउन बाध्य भयौं भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ ।’

फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले ‘महाजात्रा’मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालिन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आउने समस्यालाई देखाइने बताए ।

फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहेको छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । फिल्म चैत ९ गते नेपालसहित विश्वभर एकसाथ रिलिज हुँदैछ ।

New Project (13).png