Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

अजरबैजान पठाइ दिने भन्दै ३३ लाख लिएपछि फरार कन्सलटेन्सी सञ्चालक पक्राउ

वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइ दिने भन्दै २३ लाख रुपैंयाँ ठगी आरोपमा एक कन्सलटेन्सीका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको मिराकल कन्सलटेन्सीका सञ्चालक २३ वर्षीय राम शरण शिवाकोटी रहेको प्रहरीले जनाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले शिवाकोटीलाई कञ्चनपुरको गड्डाचौकीबाट नियन्त्रणमा लिएको जानकारी दिए । उनले वैदेशिक रोजगारीका लागि अजरबैजान पठाइ दिने भन्दै पीडित युनिसा आले मगरसहित केही व्यक्तिबाट ३३ लाख २ हजार रकम लिइ फरार भएका थिए ।


अजरबैजान पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई दिने, त्यहाँ २ लाख रुपैयाँ तलब हुने भनी विश्वास दिलाइ पीडितहरूबाट पटक–पटक गरी ३३ लाख २ हजार रुपैयाँ लिइ भारतको नयाँ दिल्लीमा लुकिछिपी बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई कञ्चनपुरको गड्डा चौकीबाट नियन्त्रणमा लिएको हो । उनले फ्रान्स, स्पेन, युक्रेन जस्ता देशहरूमा पठाइ दिने भन्दै व्यक्तिहरूसँग रकम लिएको खुल्न आएको छ । शिवाकोटीलाई थप अनुसन्धानका तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको छ ।