Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

पर्यटनमन्त्री किराँतीको एक वर्षे उपलब्धिः निगमको ऋण भुक्तानीदेखि बेचिएका मूर्ति फिर्तासम्म (पूर्णपाठसहित)

‘६० भन्दा बढी पुराना गाउँ खोजेर पर्यटन प्रवर्द्धन गर्दैछौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरु गरेको बताएका छन् । आज (बुधबार) सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले पर्यटन प्रवर्द्धनका लागि ६० वटाभन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको जानकारी दिए । उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए ।

उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे । उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए । उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए ।


मन्त्री किराँतीले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताए । मन्त्री किरातीले आज पत्रकार सम्मेलन गर्दै उनले १५ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन् । उनले आफ्नो प्रगति विवरणमा सगरमाथादेखि, पशुपति र लुम्बिनीसम्ममा भए गरेका कामको फेहरिस्त सुनाएका छन् । उनले पर्यटक ल्याउन गरिएका पहलदेखि नीतिगत सुधारका विवरण पनि आफ्नो उपलब्धिमा समेटेका छन् ।

किरातीले नीतिगत सुधारतर्फ वायुसेवा निगम र नारायणहिटी दरबार संग्रहालयमा ई–टिकट प्रणाली लागु गरिएको जनाएका छन् । त्यस्तै पर्वतारोहण सुरक्षाको लागि पर्यटक सूचना व्यवस्थापन प्रणाली (टीआईएमएस) लागू गरिएको किरातीले बताएका छन् । उता वर्षौंदेखि गैरकानुनी तरिकाबाट पशुपतिमा नियुक्ति गरिएका सयभन्दा बढी संख्याका सल्लाहकार खारेज गरिएको कुरालाई पनि उनले उपलब्धि भनेका छन् ।

पशुपति गौशाला धर्मशालाको सम्झौता रद्ध गरी समसामयिक बनाउन नयाँ प्रक्रिया थालनी गरिएको पनि उपलब्धिमा उल्लेख छ । गैरकानुनी रुपमा संचालित पशुपतिको बसपार्कको टेण्डर रद्द गरी नियमित ढंगले संचालन गर्न प्रक्रिया सुरु गरिएको किरातीले जनाएका छन् । त्यसैगरी दोलखाबाट हराएको बज्रधरको मूर्ति २८ वर्षपछि हङकङबाट फिर्ता गरी पुनःस्थापना गरिएको पनि उनले उपलब्धिमा उल्लेख गरेका छन् ।

नेपालबाट विभिन्न समयमा विदेशिएका मूर्तिहरू हालसम्म १४५ वटा फिर्ता ल्याइसकिएको कुरा उपलब्धिमा समेटिएको छ । त्यस्तै अभौतिक सांस्कृतिक सम्पदाहरूलाई कार्यविधि तयार गरी सूचीकरणको कार्य प्रारम्भ गरिएको उपलब्धिमा लेखिएको छ । अनलाइन प्रविधिको माध्यमबाट होटल दर्ता तथा पर्वतारोहण अनुमति प्रणाली लागु गरिएको किरातीले जनाएका छन् । गुनासो सुनुवाइलाई प्रभावकारी बनाउन अनलाइन प्रणालीको व्यवस्था गरिएको प्रतिवेदनमा उल्लेख छ ।

उपलब्धिमध्ये किरातीले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्य पूरा भइसकेको पनि भनिएको छ । नेपाल र रुवाण्डाबीच हवाई सेवा सम्झौता सम्पन्न भएको कुरालाई पनि उपलब्धि भनिएको छ। उता स्वीजरल्याण्ड र इण्डोनेसियासँग द्विपक्षीय हवाई सम्झौता गर्ने प्रकृया अन्तिम चरणमा रहेको किरातीले बताएका छन् ।

हिमाल सरसफाफाइसम्बन्धी तीन वर्षे रणनीतिक योजना तयार गरिएको पनि किरातीले जनाएका छन् । उनले आफ्नो उपलब्धिका रुपमा सगरमाथाको चुचुरोबाट स्काइडाइभिङ परीक्षण सफलतापूर्वक सकिएको पनि उल्लेख गरेका छन् । सगरमाथाबाट प्याराग्लाइडिङ र स्काई डाइभिङ सफल परीक्षण सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ । सिन्धुपाल्चोकको जुगल हिमश्रृखंलामा पर्ने ५ वटा नयाँ हिमाल आरोहणका लागि खुला गरिएकोलाई पनि उपलब्धि भनिएको छ ।

८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालहरूको चिनारी (प्रोफाइल) तयार गरिएको पनि उपलब्धि भनिएको छ । भूकम्पबाट क्षति भएका सम्पाहरूको मतसम्भार र पुनर्निर्माणको कार्य भएको पनि जनाइएको छ । कपिलवस्तुको तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्ने कार्य अन्तिम चरणमा पुगेको पनि उल्लेख गरिएको छ । उता लुम्बिनी गुरु योजनालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्देशन अनुसार काम भइरहेको किरातीले जनाएका छन् ।

रामग्रामको बृहत्तर विकासका लागि निजी क्षेत्रसँग साझेदारी मोडलमा कार्य अघि बढाइएको पनि उल्लेख छ । नेपाल वायु सेवा निगमका दुर्गम क्षेत्रमा उड्ने र अवतरण गर्ने जहाज खरिद गर्न प्रकाशित टेन्डर अन्तिम चरणमा रहेकोलाई पनि किरातीले उपलब्धि भनेका छन् । सन २०१२ बाट ग्राउन्डेड भएक ट्विनअट्टर जहाज मर्मत गरी सञ्चालनमा ल्याउन मर्मत सम्भार भइरहेको पनि उनले जनाएका छन् ।

क्षेत्रीय विमानस्थलमा उडान र अवतरण गर्ने तीन र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने तीन न्यारोबडी जहाज लिने लिज प्रक्रिया अघि बढाइएको पनि उनले जनाएका छन् । लामो समयदेखि थन्किएर रहेको चिनियाँ जहाजको लिलाम बिक्री प्रक्रिया अघि बढाइएको किरातीले उपलब्धि भनेका छन् । नेपाल वायुसेवा निगमको ऋणको सावाँ र व्याज वापतको करिब चार अर्ब किस्ता भुक्तानी गरिएको पनि उनले उल्लेख गरेका छन् ।
हेर्नुस् अरु उपलब्धिका सूची
१) पर्यटक दुत खारेज गरि पर्यटक प्रवर्द्धक कार्याविधि स्वीकृत गरिएको ।
२) संघीयताको मर्म-भावना अनुसार विभिन्न विकास समितिहरूलाई प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने प्रकृयाका लागी प्रस्ताव मन्त्रीपरिषद्मा पेश गरिएको ।
३) पर्यटन दशकलाई प्रभावकारी बनाउन कार्ययोजना अघि बढाइएको ।
४) संघ, प्रदेश र स्थानीय तह सहित विषयगत समितिको बैठक बसी पर्यटन विकासको निम्ति
महत्वपूर्ण निर्यणयहरू गरिएको ।
५) पाइलट प्रशिक्षणका लागि फ्लाइङ स्कूलहरूलाई अनुमति प्रदान गरिएको ।
६) सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भए अनुसार विभिन्न संस्थाहरूलाई एकीकृत गर्ने प्रस्ताव मन्त्रीपरिषद्मा पठाइएको ।
७) संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन र मन्त्रालयको संयुक्त आयोजनामा एशिया तथा प्रशान्त क्षेत्रमा टरिजम स्याटेलाइट एकाउन्ट विषयक कार्यशाला काठमाडौंमा सम्पन्न गरिएको ।
८) मन्त्रालय मातहतका विभिन्न प्रतिष्ठानहरूको रिक्त नयाँ पदाधिकारीहरू नियुक्ति गरी सम्बन्धित प्रतिष्ठानको कामलाई निरन्तरता दिइएको ।
९) राष्ट्रिय ललितकला सम्मेलन सम्पन्न गरिएको ।
१०) गौतमबुद्धको जन्मस्थल लुम्विनी बगैंचाको इन्ट्रिग्रेटेड म्यानेजमेन्ट फ्रेमवर्क स्वीकृत भएको ।
११) मन्त्रालय र यस अन्तर्गतका निकायहरूको संगठन पुनसंरचना सम्बन्धमा समिति गठन गरी संगठन तथा व्यवस्थापन सर्भे (ओ एन्ड एम सर्भे) कार्य भइरहेको ।
१२) विमस्टेक क्षेत्रको पर्यटन विकासका लागि काठमाडौंमा विमस्टेकस्तरीय वर्किङ ग्रुपको बैठकको आयोजना गरिएको ।
१३) युनेस्कोको समन्वयमा रामग्राम स्तुपाको उत्तर र पश्चिम भागको उत्खनन् कार्य अघि बढाइएको ।
१४) नेपाल वायु सेवा निगमबाट विषद् उद्धार नीति स्वीकृत गरी लागु गरिएको ।
पूर्णपाठ