Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्री कप: कर्णालीको विजयी सुरुवात, गण्डकीको दोस्रो हार

गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेको छ । भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकीले दिएको १२३ नरको लक्ष्य पछ्याएको कर्णालीले ३३ ओभर २ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

कर्णालीका लागि हिमान्सु शाहीले ५३ रनको अर्धशतकीय पारी खेले । त्यस्तै निश्चल रावलले २९ रन बनाउँदा कप्तान रविन्द्र शाहीले २० रन बनाए । गण्डकीका लागि अंकित न्यौपानेले दुई विकेट लिए । त्यस्तै विपिन खत्रीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । गण्डकीका लागि अम्रित गुरुङ र कमल परियारले समान २१-२१ रन बनाए ।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दिपेन्द्र शाहीले दुई–दुई विकेट लिए । त्यस्तै प्रकाश जैसी, दिवन पुन र रविन्द्र शाहीले एक–एक विकेट लिए । गण्डकीको यो दोस्रो हार हो । यसअघि पहिलो खेलमा गण्डकी प्रदेश लुम्बिनीसँग चार विकेटले पराजित भएको थियो ।