Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नागरिकलाई नुनको अभाव, अनुदानको पाँच वर्षदेखि गोदाममै

कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् । 

कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानवापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ ।  नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसके स्थानीयको भनाइ छ । 

हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशंका भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताए।  अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाचँ वर्षदेखि राखिएको छ । त्यतिबेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुनसक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेका जानकारी दिए।  रेग्मीले नुन दुई वर्षभित्र नुन प्रयोग गसिक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताए। उनले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दामा स्वास्थ्यमा असर पर्ने बताए। 

दुर्गमका नागरिक नुन अभावमा चर्को मूल्य तिरेर किन्नुपर्ने अवस्था भए पनि सहुलियत अनुदानको नुन पाँच वर्षदेखि बाजुरामा थन्किएर म्याद सकिँदासम्म पनि कसैको ध्यान जान सकेको छैन । दुर्गम क्षेत्रका नागरिक नुन अभावमा तड्पिरहेका बेला यसरी गोदाममा थन्किनुले नागरिकमा शंका उत्पन्न भएको छ ।