Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

उच्च शिक्षाका लागि आउजाउ गर्न छात्राहरूलाई साइकल

विराटनगर । पढाइमा अब्बल रहेका छात्राहरुलाई स्थानीय निकायले साइकल दिएर सहयोग गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर १४ वडाले २०७९ सालमा सामुदायिक बिद्यालयबाट एसईई उत्तीर्ण गरेका छात्राहरुलाई साइकल वितरण गरेको हो ।

उच्चशिक्षा अध्ययनका लागि सहज होस भनेर साइकल दिएर सहयोग गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए ।  कार्यक्रममा ३० जना छात्रालाई साइकल प्रदान गरिएको थियो । 

एसईइपछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्राहरु खुसी भएका थिए । एसईई उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्न सम्बन्धित शैक्षिक संस्थामा आउजाउ गर्न सजिलो हुने भएको छात्राहरुले बताए ।

टाढाका शैक्षिक संस्था जान यातायातको सहजता नहुँदा आउजाउ गर्न उनीहरुलाई कठिनाइ हुने गरेको थियो । वडा कार्यालयले छात्राहरुको शैक्षिक अवस्थामा सुधार ल्याउने उद्देश्यले साइकल दिएको जनाएको छ ।

आगामी दिनमा पनि उनीहरुको पढाइमा भरथेग गर्ने खालका कार्यक्रम ल्याइने वडाध्यक्ष महतोले बताए ।