Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

सर्लाही घटना छानविन गर्न तीन सदस्यीय समिति, मृतकको परिवारलाई १० लाख राहत

मृतकलाई शहीद घोषणालगायतका नौं बुँदे माग राख्दै प्रदर्शन कायमै

सर्लाहीको बरहथवामा ३० वर्षीय युवा जयशंकर साहको ज्यान गएको घटना छानबिनका लागि सरकारले तीन सदस्यीय समिति गठन गरेको छ । हिजो (शुक्रबार) भएको झडपमा साहको ज्यान गएको घटना छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा छानबिन समिति गठन भएको मन्त्रालयले जनाएको छ ।

समितिमा नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेका छन् । यस्तै, सरकारले मृतक जयशंकर साहका परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्न पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न पनि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । नगर अस्पतालको स्वामित्व विवादमा हिजो भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा वरहथवा–का साहको ज्यान गएको हो । स्थानीयले गोली हान्ने प्रहरीलाई कारबाही हुनुपर्ने लगायतका माग राखेर शव उठाउन नदिएपछि साहको शव घटनास्थलमै रहेको छ । साहको मृत्युपछि प्रदर्शनकारीहरु थप उग्र बनेका छन् ।

आज शनिबार दोस्रो दिन पनि तनाव कायमै छ । प्रदर्शनकारीले शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । शव प्रदर्शनकारीको नियन्त्रणमा छ भने प्रहरी शव नजिक पुग्न सकेको छैन । मृतकका आफन्तसहित आन्दोलनकारीले दोषी प्रहरीको निलम्बन तथा कारबाही हुनुपर्ने, मेयर कल्पनाकुमारी कटुवालले राजीनामा दिनुपर्ने, ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षकको निलम्वन हुनुपर्ने र मृतकलाई शहीद घोषणा लगायतका नौं बुँदे माग अघि सारेका छन् । मृतक साहका भान्जा विवेक साहले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।