नेपाली सेनाले गोरखादेखि ककाठमाडौँसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्त्वको एकीकरण अभियान हर्सोल्लासकासाथ मनाउन गोरखादेखि काठमाडौँसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाले २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाडौँसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको पश्चिम पृतनाका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल, गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर राना, सेनाको नम्बर–३ बाहिनीपति सहायक रथी गौरवकुमार केसीले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरी पदयात्राको शुभारम्भ गरेका हुन्।
आज बिहान गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन यही २७ गते शुक्रवार काठमाडौँ पुग्ने गोरखाको रिपुमर्दन गणका सेनानी एवं पदयात्रा समन्वय अधिकृत भुवनबहादुर थापामगरले बताए । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन सेनाको पोसाकमा रिपुमर्दन गण र शार्दुलजंग गुल्मका सेना सहभागी छन् ।
टर्चसहित नेपालको झण्डा र पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको सेनानी थापामगरले जानकारी दिए । पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए ।
तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको रिपुमर्दन गणको टोलीले नेपाली सेनाको धादिङको शिवदल गण, धादिङले नुवाकोटको जबरजंग गण र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौको कालीध्वज गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ ।
सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । सेनाले यो पदमार्गको अध्ययन पूरा गरेको छ । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाडौँबाट काभ्रेसम्मको झण्डै एक सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्दैछ ।
काठमाडौँको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा छ । पदमार्ग आसपास ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायत सम्पदाहरु छन् । पदमार्गको धेरैजसो खण्डमा मध्यपहाडी राजमार्ग निर्माण भैरहेको छ । यसले ऐतिहासिक सम्पदा नासिने जोखिम पनि छ । नेपाली सेनाका उपरथी पौडेलले पदमार्गमा पर्ने सम्पदाहरुको संरक्षणमा पनि सेना सहभागी भैरहेको बताए ।