Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

हर्क साम्पाङको प्रशंसा गर्दै बालेनले भने– धरान श्रम सँस्कृतिका लागि विश्वमै अनुकरणीय

‘धरानमा यलम्बरलाई मानिन्छ, काठमाडौंमा आकाश भैरव’

काठमाडौँ महानगरका मेयर बालेन (बालेन्द्र) शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । आज शुक्रबार धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले आकाश भैरवको उपहार दिएका हुन् ।

कार्यक्रममा मेयर शाहले धरान उपमहानगरपालिको प्रशंसा समेत गरेका छन् । धरानको श्रम संस्कृति विश्वका लागि अनुकरणीय भएको उनले बताएका छन् । उनले धरानमा शुरु भएको श्रम संस्कृति देश मात्रै नभएर विदेशमा समेत अनुकरणीय भएको बताए । उनले काठमाडौंभन्दा पनि धरान फेसनमा अगाडि रहेको बताए । ‘धरान डे’ को विशिष्ट अतिथिको रूपमा आएका बालेनले धरानको श्रमसंस्कृति समेत अनुकरणीय रहेको बताए ।

‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरुले सरकारको बजेट विना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्’, शाहले भने, ‘अहिले देखिँदैछ, विश्वभर धरानको नाम सुनिँदैछ ।’ बालेनले भने, ‘यहाँ यलम्बरलाई मानिन्छ । काठमाडौंमा आकाश भैरवलाई ।’ यसअघि पटक–पटक सामाजिक सञ्जालमा दुई मेयरबीच भनाभन हुने गरे पनि यस कार्यक्रममा भने सुमधुर सम्बन्ध देखिएको छ ।