Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

नदीको विनाश होइन विकास गरौँ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीको विनाश नभई विकास गर्नुपर्ने बताएका छन् । केशलिया–बूढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले विनाश मात्र नभई विकास गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले यस क्षेत्र भएर बग्ने केशलिया बूढीखोला नदीको सौन्दर्यकरण एवं विकासले यहाँका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए । करिडोर बनेसँगै बर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र सेजमा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने उनले धारणा राखे । मुख्यमन्त्री कार्कीले सरकारले समृद्धिको पाइला चाल्न जनताको पैसा सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको एक सय ३७ पालिकाका जनताको जीवनस्तर उकास्नका लागि प्रतिबद्धता जनाए ।

उनले परियोजना अन्तर्गतको नदीमा बाँध निर्माण तत्काल सुरु हुने घोषणा गरे । अध्ययन प्रतिवेदन निर्माणकर्ताद्वय महेन्द्र सुब्बा र प्रशान्त मल्लले दुहवी नगरपालिका, बूढीगङ्गा, बर्जु गाउँपालिका तथा विराटनगनगर महानगरपालिकालाई छुने उक्त परियोजनाको लागत रु एक अर्ब ३२ करोड रहेको जानकारी दिए । आगामी तीन वर्षमा सम्पन्न गरिने उक्त परियोजनाले दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण हुनाका साथै खोलामा बाँध निर्माण र सौन्दर्यकरण गरिने उल्लेख गरिएको छ । 

मुख्यमन्त्री कार्कीलाई स्विस नियोगको सहयोगमा निर्माण गरिएको उक्त प्रतिवेदन राजीव उपाध्यायले हस्तान्तरण गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठलगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।