Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

भन्सार विभाग घेर्न पुगेका प्रभू साहको पार्टीका सात कार्यकर्ता पक्राउ

आम जनता पार्टी (आजपा) निकट आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै आज काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरिरहँदा प्रहरीले सात आन्दोलनकारीलाई पक्राउ गरेको छ । धरपकडमा एक आन्दोलनकारी घाइते भएका छन् ।

निरन्तर विभागमा धर्ना तथा घेराउ कार्यक्रम जारी रहेकै क्रममा आज उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । भन्सार धर्ना तथा घेराउका क्रममा आजपा उपाध्यक्ष तिलक थापा मगर, केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साह, आजपाका नेताहरु आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये रञ्जु घाइते छिन् । उनको खुट्टामा चोट लागेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

aajapa-2.webp

पुरस्कारको नाममा भन्सारबाट उठेको रकमको ४५ प्रतिशत सिधै भ्रष्ट कर्मचारी एवं मन्त्रीको खातामा गईरहेकोले राजस्व उठाउने राज्यको लक्ष्य समेत पुरा हुन नसकेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए । आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ । आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी आन्दोलनकारीले दिएका छन् । आजपाको आहवानमा शुरू भएको आन्दोलन झण्डै ४ महिना पुगी सक्दा समेत सरकारले कुनै सुनवाई नगर्दा आन्दोलनकारीले दुुख व्यक्त गरेका छन् ।

aajapa.webp

भन्सारमा हुने गरेको लुट एवं भ्रष्टाचारविरुद्ध बिभिन्न माग गर्दै भन्सार विभाग कार्यालयमा धर्ना तथा घेराउ हुँदै आएको छ । कर कानुन, राजस्व कानुन र भन्सार कानुनमा एकरूपता ल्याउन भन्सार नियमावलीबाट व्यक्ति, सवारीसाधन एवं सम्पति जफत गर्ने प्रावधान हटाउँनुपर्ने माग आन्दोलनकारीको छ । यसैगरी भन्सारबाट उठेको राजश्व रकमबाट २५ प्रतिशत रकम सम्बन्धित प्रदेशलाई र २० प्रतिशत रकम सम्बन्धित पालिकालाई दिने ब्यवस्था गर्नुपर्ने, घरायसी प्रयोजनको लागि ल्याइने बस्तुमा भन्सार कर लगाउँने व्यवस्थाको अन्त्य हुनुपर्ने माग उनीहरुले गरेका छन् ।

aajapa-2.webp

आजपाले गत ३१ भदौमा भन्सार विभागका महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर शुरू गरेको संघर्षको पहिलो चरण अंतर्रगत गत ३ असोजमा पत्रकार सम्मेलन, १८ असोजमा नियमावलीको गलत प्रवाधान जलाइएको, १९ असोजमा तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरेको थियो । तर सरकारले आफ्नो मागको कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाडि बढाउनु परेको आजपा केन्द्रीय सदस्य सापकोटाले बताए ।