Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

माधव नेपालको स्पष्टीकरण– बालकुमारी घटनामा मन्त्री ज्वाला सूचनाको अभावमा फस्न पुगे

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बालकुमारी घटनामा सूचनाको अभावमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला फस्न पुगेको टिप्पणी गरेका छन् ।  एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका मन्त्री ज्वाला आन्दोलित समूहको भीडमा पुगेकाले सो घटना घटेको चर्चा भइरहेका बेला उनको सो प्रतिक्रिया आएको हो । 

सोमबार राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले घटनास्थलनजिकै पार्टी केन्द्रीय कमिटी बैठकबाट सरकारी कामको शिलाशिलामा बाहिर निस्किएका मन्त्री ज्वालाबारे अन्यथा टिप्पणी गरिरहन आवश्यकता नभएको बताए ।  सो घटनालाई आफ्नो पार्टी र सरकारले गम्भीर रूपमा लिएको उल्लेख गर्दै त्यसमा संलग्न दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताए । अध्यक्ष नेपालले त्यस्ता घटना हुन नदिन वैदेशिक रोजगारीमा युवाहरू जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए । 

अध्यक्ष नेपालले भने, 'बालकुमारीमा शुक्रबार हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । ठयाक्कै त्यो ठाउँ कता त मलाई थाहा छैन । आमनेसामने वा सम्भवतः त्यो पश्चिमतिर होला । हाम्रो बैठक बसीरहेको थियो पूर्वतिर । हामी बैठकमा पूरै व्यस्त थियौँ थाहा भएन । त्यसपछि उहाँ सरकारी कामको शिलशिलामा बाहिर निस्कनु भएछ । त्यसमा फस्नुभएको हो । त्यसो हुनाले अरु कुनै शिलशिलामा होइन । आफ्नो पार्टीको बैठकबाट बाहिर निस्किने शिलशिलामा सम्भवत त्यो संवादको वा सूचनाको कुनै ग्यापको कारणले त्यो घटना घटेको हो । यसलाई अन्यथा रूपमा कसैले पनि लिनुपर्ने आवश्यकता छैन । यो मैले प्रष्ट पार्नैपर्ने भएकाले मैले भनेको छु । तर हाम्रो पार्टी यस मामिलामा गम्भीर छ ।'