Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

कांग्रेसको ११ बुँदे निर्णय: भातृ संस्थाको म्याद ६ महिना थपिने (पूर्णपाठसहित)

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले ११ बुँदे निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि बसेर शनिबार बेलुका सम्पन्न बैठकले पार्टीका भातृ संगठनको कार्य अवधि ६ महिना थप गर्ने निर्णय गरेको छ ।

कांग्रेसले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्यावधि ६ महिना थप गर्ने निर्णय गरिएको जानकारी  दिइयो ।

संविधान कार्यान्वयनले नै अहिले देखिएका आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक एवं राजनीतिक समस्याहरु हल गर्न सक्ने कांग्रेस बैठकको निष्कर्ष छ । यसका लागि बाह्रबुँदे समझदारी र वृहत् शान्ति सम्झौताले निर्दिष्ट गरेको शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम निष्कर्षमा पुर्‍याइ द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुने निष्कर्ष कांग्रेसले निकालेको छ ।

यसका लागि बैठकले सबैसँग साझा सहमतिका लागि अपीलसमेत गरेको छ । राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशबाट सिफारिस भई आएका नामहरु मध्येबाट भौगोलिक र जातीय सन्तुलनलाई ध्यान दिँदै पार्टीमा योगदान गरेका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका र हालसम्म कुनै पनि अवसर नपाएकाहरुलाई प्राथमिकता दिने कांग्रेसले निर्णय गरेको छ ।