Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

चौतर्फी आलोचनापछि मेयर हर्क साम्पाङ भन्छन् -मलाई काम गर्न देऊ

धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो कार्यकक्षमा प्रथम किराँती राजा यलम्बरको फोटो राखेका छन्। कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर उनले यलम्बरको फोटो राखेका हुन्। 

उनको सोही कार्यलाई लिएर चौतर्फी आलोचना भइ रहेको छ। धरान उपमहानगरपालिका प्रमुख साम्पाङले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील ५ राजनीतिक दलहरूले धरानमा साम्पाङ मेयर भएपछि निरन्तर अराजकता तर्फ लागेको बताएका छन् । बिहीबार प्रेस संयुक्त प्रेस विज्ञप्ति जारी गदै एमाले, काँग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले भाइचाराका आधारमा मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको समेत बताएका छन् ।

तर चौतर्फी आलोचनापश्चात सामाजिक सञ्जालमा निकै सक्रिय मेयर साम्पाङले मलाई काम गर्न देऊ भन्दै फेसबकमा स्टाटस लेखेका छन् । उनले लेखेका छन्, ''मलाई काम गर्न देऊ ! धेरै नचलाऊ!।'' मेयर साम्पाङले स्टाटससँगै आफ्ना तस्बिर सार्वजनिक गरेका छन्। तस्बिर उनको कार्यकक्षमा खिचिएको छ। तस्बिरमा भित्तामा झुन्ड्याइएको प्रथम किराँती राजा यलम्बरको  फोटो पनि देखिएको छ। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ।