बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आएका छन् । उनी भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आएका छन् । पिथौरागढको सिमलगैर बजारमा मजदुरी गर्दै आएका बोहरा भारी बोकेर पाउने रकमले घरखर्चको जोहो गर्न सहज भएको बताउँछन् ।
‘नेपालमा रोजगारी पाइँदैन, यहाँ आउने बित्तिक्कै काम पाइन्छ’, नौ वर्षको उमेरदेखि पिथौरागढमा भारी बोक्दै आएका बोहराले भने । उनले केही वर्ष भारतको दिल्ली र बेङ्लुरुमा पनि मजदुरी गरे । पिथौरागढमा भारी बोक्ने बोहरा एक्लै मात्र होइनन् । उनी जस्तै सुदूरपश्चिम र कर्णली प्रदेशका सयौँ नेपाली भारतीय सहरमा मजदुरी गरेरै घरखर्च चलाउँदै आएका छन् । ‘यहाँ भारी बोक्ने काम प्रायः नेपालीले मात्र गर्ने गरेका छन्’, बोहराले भने । नेपालमै पसिना बगाउने आफ्नो रहर भए पनि बाध्य भएर विदेशी भूमिमा भारी बोक्नु परेको दुखेसो गरे ।
‘गाउँमा पहिलाभन्दा अहिले रोजगारी त पाउने गरेको छ, तर मजदुरी गर्न पनि राजनीतिक भेदभाव हुने गरेको छ’, बोहराले भने। भारतमा पनि मजदुरी गर्न सहज नभएको उनको भनाइ छ । ‘कुनै दिन काम नपाएर भोकै सुत्नुपर्ने बाध्यता पनि छ’, उनले भने, ‘यहाँ पनि कहिले काम पाइन्छ कहिले पाइँदैन, काम गर्न आउने नेपालीको संख्या अत्यधिक छ ।’
बोहरासँगै रोजगारीका लागि आएका तीन जना मिलेर रु दुई हजार भाडा तिरेर कोठा भाडामा लिएर बोहरा बस्दै आएका छन् । मजदुरी गर्न आउने जाने क्रम चलिरहन्छ । उनीहरूले घरको खेतीपाती पनि आफैँले गर्नुपर्ने बाध्यता छ । ‘यहाँको कमाइले लत्ताकपडा लगेर घर जान्छौँ’, बोहराले भने, ‘पैसा अभावले छोराछोरीलाई स्कुल पढाउन सकेको छैन ।’
बैतडीको पुर्चौडी नगरपालिका–८ मल्लादेहीका परमानन्द जोशी पनि रोजगारीका लागि पिथौरागढ पुगेका छन् । उनी खेतीपातीको काम सकेर रोजागरी खोज्दै पिथौरागढ पुगेका हुन् । ‘मजदुरी गरेबापत दैनिक रु छ सय पाइन्छ’, जोशीले भने, ‘घरबाट आएको केही दिन मात्रै भयो ।’ उनले ४० वर्षदेखि भारतमा मजदुरी गर्दै आएको बताए । स्वदेशमा परिवार पाल्नका लागि कुनै सीप नचलेपछि बाध्य भएर विदेशिनु परेको उनको गुनासो छ।
जोशीका तीन छोरा छन् । आर्थिक अभावकै कारण उनीहरूलाई पढाउन नसकेको उनी बताउँछन् । ‘एउटा छोरा रोजगारीका लागि भारतकै बैङ्लुरु गएको छ । दुई छोरा घरमै छन्’, जोशीले भने, ‘छोराले पनि नेपालमा रोजगारी पाउन सकेनन् ।’
पिथौरागढको बजार पस्दा घरदेश छाडेर मजदुरी गरिरहेका सयौँ नेपाली भेटिन्छन् । ३० वर्षअघि सुदूरपहाडका नेपाली पिथौरागढ पुगेर घ्यू बेच्थे । घिउ बेचेर नुन र लत्ताकपडा किन्थे। पहिले वस्तु र बस्त्रको व्यापार हुन्थ्यो । अहिले पसिनाको व्यापार चलेको छ ।
बैतडीको पुर्चौडी का उत्तमसिंह धामीको पनि उही बाध्यता छ । ‘यहाँ मजदुरी गरेर घरखर्चको जोहो गर्न थालेको ३५ वर्ष भयो’, धामीले भने, ‘छ महिना स्वदेशमा घरखेतको काम गरेर छ महिना यहाँ मजदुरी गर्न आउँछौँ ।’ बैतडीमा रहेको फलाम खानी उत्खनन गरे आफूहरूले घर नजिकै रोजगारी पाउन सक्ने उनको भनाइ छ ।
‘हाम्रो देशमा रोजगारी पाउने धेरै सम्भावना छन् । मेरो जिल्ला बैतडीमा फलाम खानी छ। सरकारले उत्खनन त गर्नुप¥यो’, उनले भने, ‘सरकारीस्तरबाट स्वदेशमै रोजगारीका लागि पहल नभए अब आउने पुस्ता पनि हामी जस्तै परदेशमा भारी बोक्न बाध्य हुनेछन् ।’ पिथौरागढको पुरानो नाम ‘सोर’ हो । कर्णाली नदीमा पुल बन्नु अघिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक नुन लिन पिथौरागढ नै पुग्ने गरेका थिए । अहिले पनि उपचार र किनमेलका लागि उनीहरू पिथौरागढ धाउँछन् । पिथौरागढ बजार क्षेत्रमा पुग्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सयौँ नेपाली भारी बोक्दै गरेका भेटिन्छन् । रासस