Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

विद्यालय पोशाकबाहेक अन्य पोशाक किन्न बाध्य पार्ने स्कुललाई महानगरले कारबाही गर्ने

काठमाडौँ महानगरपालिकाले विद्यालयहरूले चाडपर्वका नाममा विद्यार्थीलाई विभिन्न पोशाक किन्न बाध्य पारेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ ।  विद्यालयहरूले नियमित पोशाकभन्दा बाहेक अन्य चाडपर्वका नाममा विभिन्न पोशाक खरिद गर्न लगाएको भन्ने गुनासो आएपछि महानगरपालिकाले त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो । 

महानगर शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यालयले अन्य पोशाक किन्न बाध्य पार्न नमिल्ने बताए । ‘नियमित पोशाकमा एकरुपता ल्याउन विद्यालयले व्यवस्था गर्न सक्छ । तर त्यसबाहेक अन्य पोशाकका लागि विद्यार्थीलाई बाध्य पार्न मिल्दैन,’ उनले भने । 

महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको पाइए महागनरपालिकाको शिक्षा ऐन, २०७५ बमोजिम कारबाही गर्ने जनाएको छ । साथै, त्यस्तो गरेको थाहा पाए महानगरपालिकालाई जानकारी गराउन समेत सूचित गरेको छ ।