Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मन्त्री किरातीको अभिव्यक्ति खेदजनक छ, तत्काल राजीनामा दिनुपर्छः रवि लामिछाने

संस्कृति तथा पर्यटन मन्त्री सुदन किरातीले धर्मको विषयमा दिएको अभिव्यक्ति अहिले चौतर्फी विरोध भइरहेको छ । ‘क्रिश्चियन नमान्ने संविधानविरोधी हुन्, उनीहरूलाई जेल हाल्नुपर्छ’ भन्ने मन्त्री किरातीको अभिव्यक्तिलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको हो ।

यसैबीचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिव्यक्ति फिर्ता लिन र तत्काल पदबाट राजीनामा दिन माग गरेका छन् ।

‘संस्कृति मन्त्री सुदन किरातीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ रु प्रधानमन्त्री ज्यू, गम्भीर ध्यानाकर्षण होस् ।’ बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए ।