Jul 18 2026

Jul 18 2026 | शनिवार, श्रावण २ गते २०८३

किसान महासङ्घद्वारा मुख्यमन्त्रीसमक्ष पाँच बुँदे माग

नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री  शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ ।

बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा त्यसको विरोध गरेको छ । महासङ्घले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको छ । जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूलगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने माग छन् ।

यस्तै, बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्याङ्क सङ्कलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा  समयमै उपलब्ध गराउनुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखिएको छ । त्यस अवसरमा मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताए । उनले किसानलाई सम्बोधन गर्न सरकारले सोहीअनुसारको बजेट विनियोजन गरेको उनको भनाइ थियो ।