Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

भारतीय प्रधानमन्त्रीको गृहनगरमा पेन्टागन भन्दा ठूलो हीरा व्यापार भवन

भारतको गुजरातमा अमेरिकी सुरक्षा मुख्यालय पेन्टागन भन्दा ठूलो बहुउदेश्य भवन निर्माण गरिएको छ। सुरत डायमण्ड बोर्स (एसडीबी) नामको सो भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरुलाई निमन्त्रणा गरिएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 

आफ्नो गृहनगरमा निर्मित एसडीबी भवनको प्रधानमन्त्री नरेन्द्र मोदीले आज उद्घाटन गर्दैछन्। यो भवनलाई सबैभन्दा ठूलो अन्तरसम्बन्धित कार्यालय भवन मानिएको छ। यसमा ४ हजार ७०० भन्दा बढी कार्यालयहरू  रहन सक्नेछन्।  यसको निर्माण लागत ३५ अर्ब भारतीय रुपैंयाँ छ। भवनको निर्माण फेब्रुअरी २०१५ मा सुरु भएको थियो। यसको काम अप्रिल २०२२ मा सम्पन्न भएको हो। एसडीबी भवनमा सूरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनी सबैथोक पाउन सकिने उदेश्य राखेको बताईएको छ। सूरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ।

 

heera 11.jpg

गिनिज वल्र्ड रेकर्डमा नाम

यस भवनको नाम यसै वर्ष अगस्टमा गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको थियो। यो भवन ३५।५४ एकडमा फैलिएको छ। यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ। यसअघि विश्वको सबैभन्दा ठूलो अफिस कम्प्लेक्सको कीर्तिमान अमेरिकाको पेन्टागनको नाममा थियो। पेन्टागनको निर्माण क्षेत्र ६५ लाख स्क्वायर फिट छ।

सूरतमा बनेको यो मेगास्ट्रक्चरमा ९ ग्राउन्ड टावर र १५ फ्लोर छन्। नौ आयताकार टावरहरू केन्द्रीय मेरुदण्डद्वारा जोडिएका छन्। यसमा ३०० स्क्वायर फीट देखि १ लाख स्क्वायर फीट सम्मका ४ हजार ५०० भन्दा बढी अफिस स्पेस छन्। भवनले इन्डियन ग्रीन बिल्डिङ काउन्सिलबाट प्लेटिनम र्याङ्किङ प्राप्त गरेको छ।
कार्यालयबाहेक डायमण्ड बोर्स क्याम्पसमा सेफ डिपोजिट भल्ट, कन्फरेन्स हल, बहुउद्देश्यीय हल, रेस्टुरेन्ट, बैंक, भन्सार क्लियरेन्स हाउस, कन्भेन्सन सेन्टर, प्रदर्शनी केन्द्र, तालिम केन्द्र, मनोरञ्जन क्षेत्र र क्लब जस्ता सुविधाहरू छन्। पछिल्ला केही हप्तामा, धेरै हीरा व्यापार कम्पनीहरूले यहाँ आफ्नो कार्यालय सुरु गरेका छन्।


heera 22.jpg

एसडीबी भवनको विशेषता

भारतबाट हिरा, रत्न र गहनाको आयात, निर्यात र व्यापारलाई प्रवर्द्धन गर्ने, हीरा उत्पादन र व्यापारमा संलग्नहरूलाई अत्याधुनिक पूर्वाधार उपलब्ध गराउने, हिरा, रत्न र आभूषण काट्न, पालिश र प्रशोधन सहित सम्बन्धित व्यवसाय विस्तार गर्न, भारतलाई विश्वमा आधुनिक हीरा, रत्न र आभूषण बजारको रूपमा विकास गर्न र यस भवनलाई ६५ हजार भन्दा बढी हीरा विशेषज्ञहरूको लागि सुविधाजनक हब बनाउने विशेषता रहेको छ।

यो भवनको डिजाईन दिल्लीका वास्तुविद्ले गरेका हुन्। यो भवन दिल्लीका आर्किटेक्ट सोनाली र मनित रस्तोगी र उनीहरूको फर्म मोर्फोजेनेसिसले डिजाइन गरेका हुन्। भवनको संरचना र बनाउने चुनौतीबारे मनित रस्तोगीले भने– ‘भवन बनाउनुको सबैभन्दा ठूलो चुनौती भनेको ६५ हजार मानिस आउन सक्ने भवन कसरी डिजाइन गर्ने भन्ने थियो। 

६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रंगशाला जस्तै छ। यो उच्च सुरक्षा क्षेत्र पनि हो। यहाँ नियमित रुपमा आउने मानिसहरू एकै समयमा भवन भित्र र बाहिर गर्न सक्नेछन्। त्यसकारण मेरुदण्डको आकारको भवन बनाइएको छ। मेरुदण्ड साना हड्डीहरूको श्रृंखलाबाट बनेको हुन्छ जसलाई कशेरुका भनिन्छ। त्यसैगरी यो भवन पनि एक अर्कासँग जोडिएको छ।