Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

हरवाचरवा दलित महिला सामूहिक तरकारी खेतीमा आकर्षित

सप्तरीको शम्भुनाथ नगरपालिका–३ गढिमाई टोलका हरवा चरवा दलित महिला सामूहिक तरकारी खेतीतर्फ अग्रसर भएका छन् । विगतमा स्थानीय साहु महाजनका खेतबारीमा काम गरेर परिवार चलाउँदै आएकी सो गाउँका दलित महिला पछिल्लो समय सामूहिक सागसब्जी खेतीमा जुटेका हुन् । सो गाउँका २४ जना दलित महिलाले डेढ बिघा जग्गा भाडामा लिएर सामूहिक रूपमा तरकारी खेती सुरु गरेका छन् ।

गढिमाई हरवाचरवा बचत तथा ऋण समूहमार्फत विगत दुई वर्षदेखि सामूहिक सागसब्जी खेती सुरु गरेका दलित महिलाले स्थानीय भिखन चौधरी र फागु साहसँग जग्गा भाडामा लिएर मौसमी सागसब्जी खेती गर्दै आएको दुर्गीदेवी सदाले बताइन् ।

अघिल्लो याममा मकैसँगै घिरौला, भिन्डीलगायत करिब तीन क्विन्टल तरकारी उत्पादन गरी रु ५० हजार आम्दानी भएको समूहकी सदस्यसमेत रहेकी दुर्गीदेवीले बताइन् । साहुमहाजनकोमा मजदुरीमा मात्र सीमित रहँदै आएका सो गाउँका विपन्न दलित महिला जीविकोपार्जन गर्न कठिन भएपछि आफ्नो आयआर्जनको लागि सागसब्जी खेतीतर्फ अग्रसर भएको निलम सदाले बताए । अहिले समूहमा आलु, काउली, बन्दा, टमाटर, भण्टा, खुर्सानीलगायत सागसब्जी उत्पादन गरिरहेको उनले जानकारी दिएका छन्

द फ्रिडम फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक केन्द्र सप्तरीले आवश्यक तालिमसँगै आर्थिक, प्राविधिकलगायत सहयोग गरेपछि आफूहरू सामूहिक सागसब्जी खेतीतर्फ अग्रसर भएको गढिमाई हरवाचरवा बचत तथा ऋण समूहका अध्यक्ष पलहास सदाले बताए ।

‘हामीलाई सागसब्जी खेतीबारे केही थाहा थिएन’, अध्यक्ष पलहासले भने, ‘श्रीपुर्राज सामुदायिक केन्द्रले पहिला हामीलाई समूहमा आबद्ध गराएर सागसब्जी लगाउनेबारे तालिम दियो । तालिमपश्चात् सामूहिक सागसब्जी खेतीका लागि भाडामा जग्गा उपलब्ध गराउनुको साथै बीउबिजन र मलखादको व्यवस्था पनि त्यही संस्थाले गरिदिएको छ’, उनले भने ।

सागसब्जी खेतीका लागि जग्गासँगै बीउबिजन, मलखाद्यसमेत व्यवस्था भएपछि समूहका महिलाले सामूहिकरूपमा सागसब्जी उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका अध्यक्ष पलहासले बताए । खेतीको लागि सिँचाइ गर्न विद्युतीय मोटरसमेत जडान गरिएको छ ।

अहिले यामअनुसारको तसागसब्जी उत्पादन गर्दै आएको निलम सदाले बताए । पहिले घरमा फुर्सदमा रहेकाले आफूलाई दिन बिताउन गाह्रो हुन्थ्यो, व्यवसायका रूपमा खेती गर्नुपर्छ भन्ने थाहा भएन उनले भने, ‘संस्थाबाट तालिम लिएको र घरपरिवारको साथ पाएकाले आफूहरूले यो पेसा रोजेका हौँ।’

पुरुषको तुलनामा महिलाको सहभागिता सागसब्जी खेतीमा उत्साहप्रद पाइएको छ । घरव्यवहार चलाउन महिला नै प्रमुख भूमिकामा हुने भएकाले आयआर्जनका काममा पनि उनीहरू नै अग्रसर भएका श्रीपुर्राज सामुदायिक विकास केन्द्रका बिजली राम बताउछन् । केही वर्षयता हरवाचरवा दलित महिलामा आएको परिवर्तन र देखिएको उत्साहजनक सहभागिताले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनी बताउछन् । सामूहिक रूपमा गाउँका महिलाअघि व्यावसायिक खेतीका माध्यमबाट अघिबढ्न सके आर्थिकसँगै सामाजिक क्षेत्रमा ठूलो परिवर्तन आउने उनको ठम्म्याइ छ ।