Jul 14 2026

Jul 14 2026 | मंगलवार, आषाढ ३० गते २०८३

हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही असन्तुष्ट हुनु स्वाभाविक: प्रस्तावित न्यायाधीश सुवेदी

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ गरेको छ । आज सिंहदरबारमा बसेको समिति बैठकले सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश सुवेदी र मुसलमानको सुनुवाइ गरेको हो ।

सुनुवाइका क्रममा प्रस्तावित न्यायाधीश शारंगा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता जनाइन् । हजारौँको सङ्ख्यामा मुद्दाको फर्छ्यौट गर्दा केही मान्छे असन्तुष्ट हुनु स्वाभाविक रहेको भन्दै उनले यसबाट अदालत प्रभावित भयो भनेर बुझ्न नहुने जिकिर गरिन् । न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुर्‍याउने उनको भनाई थियो । 

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश अब्दुल अजिज मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाए । संसदीय सुनुवाइमा आफ्नो धारणा राख्दै उनले न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको तर्क गरे । न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।

प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका न्यायाधीश शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश अब्दुल अजीज मुसलमान, उच्च  अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा र टेकप्रसाद ढुङ्गाना तथा अधिवक्ता द्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । अन्य प्रस्तावित न्यायाधीशको सुनुवाइ क्रमशः हुने र निर्णय सुनाउने समितिले जनाएको छ ।