नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणको पुनरावेदन मुद्दामाथि बहस सकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका खाणको उच्च अदालत पाटनमा पुनरावेदनमाथि सुनुवाइ भएको थियो । खाणलाई छाड्ने या थुनामै राख्नेबारे दुई न्यायाधीशको मत बाझिए पछि आज तेस्रो न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भएको हो ।
जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो । उच्च अदालत नियमावली तथा ऐनबमोजिम तेस्रो न्यायाधीशको इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।
तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशकोमा पुगेको हो ।