Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

मेयर हर्क साम्पाङको नेतृत्वमा बनेको ‘श्रम संस्कृति उद्यान’ ले गर्दै पर्यटन प्रवर्द्धन

सर्दुखोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा

सुनसरीको धरान उपमहानगरपालिका–१३ मा निर्माण भएको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ । पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् ।

काठमाडौँबाट साथी धनरत्न महर्जनका साथमा उद्यान घुम्न पुगेका राजेन्द्र राई खेर गएको ठाउँको सदुपयोग गरेर आकर्षक उद्यान निर्माण गरेको थाहा पाएपछि औधी खुशी भए । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई ९हर्क साम्पाङ० र उनका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ । सर्दु खोलाको उजाड बगरमा फलफूलका बिरुवा रोपेर आकर्षक बगैँचा बनाइएको छ । बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमूना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ ।

उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् । उद्यानका ठाउँठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ । उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् । उद्यान युवापुस्ताका लागि साथीहरुसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ । इटहरीकी रमा लिम्बु साथीहरुको समूहमा उद्यान घुम्न पुगिन् । ‘यहाँ फूल संरक्षण गरिएको साह्रै मनपर्छ’, उनले भनिन्, ‘खानेपानी, शौचालयलगायत सुविधा छ, यहाँ बारम्बार आउन मन लाग्छ ।’

Dharan.webp

उद्यान निर्माण हुनभन्दा पहिला सर्दु खोला पुल छेउमै बिपी उद्यान र ओशो उद्यान निर्माण गरिएका थिए । धरानमा पुराना रङ्गकर्मी तथा निर्देशक खगेन्द्र पन्धाक र गायक कञ्चन थलङ यो क्षेत्र पदयात्राका लागि पनि उपयुक्त भएको बताउँछन् । ‘यहाँबाट भेडेटारसम्मको पदमार्ग निर्माण गरेर यो उद्यानलाई प्रस्थान विन्दु बनाए पर्यटनको विकासमा मद्दत पुग्छ’, गायक थलङले भने ।

उद्यानमा नियमित पुगिरहने रङ्गकर्मी तथा निर्देशक पन्धाक धरानमा नयाँ पर्यटकीयस्थल थपिएकामा खुशी छन् । ‘यो ठाउँमा उद्यान निर्माण भएपछि धरानको पानीको स्रोत पनि संरक्षण भएको छ’, उनी भन्छन् । धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षरोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छदेखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ । उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् । उद्यान घुम्न नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतका सिक्किम, दार्जिलिङदेखि पनि पर्यटक आउने गरेका छन् ।

स्वतन्त्र नागरिक समाजको अगुवाइमा चौतारा निर्माण गरिएको छ । दाताको रु ११ लाख सहयोग जुटाएर चौतारा निर्माण गरिएको हो । चौतारामा सुस्ताउँदै गर्दा भेटिएकी  बेलायतबाट आएकी देविका राई ९लिम्बू० आफूले सानो छँदा देखेको खोलाको बगर र झाडीमा अहिले ढकमक्क फूल फूलेको र उद्यान बनेको देखेर हर्षित भएको बताइन् । बेलायतबाट आएका धरान समाज युकेका सल्लाहकार किरणकुमार सुब्बा उद्यान धरानको पर्यटन विकासका लागि महत्वपूर्ण माध्यम बनेको बताउँछन् । उद्यान निर्माणका लागि उनले तीन लाख सहयोग जुटाएका थिए । उद्यानमा न्यूनतम प्रवेश शुल्क राखेर त्यसबाट उठ्ने रकमले यसको व्यवस्थापन गर्नुपर्ने सुब्बाको सुझाव छ । रासस