Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

विपन्न परिवारका सदस्यको विवाह नगरपालिकाले गरिदिने

महोत्तरीको मनरा शिसवा नगरपालिकाले विपन्न परिवारका सदस्यको विवाह गरिदिने भएको छ। नगरपालिकाले आगामी पुस १ गते विवाह पञ्चमीको अवसर पारेर विपन्न परिवारका सदस्यको विवाह गरिदिन लागेको हो।

नगरपालिकाको ११ औं नगरसभाबाट कार्यक्रम नै स्वीकृत गरेर विपन्न परिवारका सदस्यको विवाह गरिदिन लागेको बताएको छ। दुलहा–दुलहीका लागि लुगा–कपडादेखि विवाहका लागि लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्ने बताएको छ। ‘पुष १ गते विवाह पञ्चमी पर्वको अवसरमा यस नगरपालिकाद्वारा विपन्न परिवारको लागि सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको छ,’ नगरपालिकाले निकालेको सूचनामा भनिएको छ। विवाह गर्न इच्छुक अभिभावकलाई मंसिर २५ गतेभित्र वडा कार्यालय अथवा नगरपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गर्न भनिएको प्रमुख मोहन पाण्डेयले जानकारी दिए।

इच्छुक जोडीलाई वैदिक परम्पराको विधि–विधानअनुसार विवाह गरिदिने नगरपालिकाले जानकारी दिएको छ। विवाह कार्यक्रमका क्रममा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्ने र विवाह कार्यक्रममा बेहुला, बेहुलीको तर्फबाट बढीमा १५–१५ जनामात्र सहभागी हुनुपर्ने बताइएको छ। नगरपालिका भित्रका जोडीलाई मात्रै विवाह गराइने पनि जानकारी दिएको छ।