Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

रुकुम हत्याकाण्डमा २३ जनालाई जन्मकैद

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती घटनामा संलग्न २३ जनालाई जिल्ला अदालत रुकुमले जन्मकैदको फैसला सुनाएको छ । मंगलबार जिल्ला अदालतका न्यायाधिश खड्कबहादुर केसीको इजलासले २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

आज मंगलबार नै प्रतिवादीतर्फका कानुन व्यवासायी र सरकारी वकिलबाट जवाफी बहस सकिएसँगै अदालतले आदेश दिएको हो । त्यसैगरी ८ जनालाई सफाइ दिएको अदालतको फैसलामा उल्लेख छ ।

२०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विःकसहित ६ जना युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिःक तथा उनका साथीहरुको समूहलाई सोतीका स्थानीय बासिन्दाहरुले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनाविरुद्ध मुद्दा चलाइएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।

रुकुम जिल्ला अदालतका न्यायाधीश खड्क बहादुर केसीको इजलासले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ ।