Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

मदन भण्डारी राजमार्गः झापा–सुनसरी खण्डका १४ पुल निर्माण

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उनले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिए ।

हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उनले बताए। यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।

उनले कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताए। कार्यालय दमकका प्रमुख खकुरेलले बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको बताए ।

उनले भने, “सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगतिमा हुनसकेको छैन ।” उहाँले रु १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै रु तीन अर्ब ५० करोड बाँकी रहेको बताए ।

सरकारले चालु आर्थिक वर्षमा रु ५० करोडमात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माणकार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको उनको भनाइ छ । रासस