Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

स्वर्गीय आमा दीपाको नाममा २० लाख बराबरको अक्षय कोष खडा गर्ने कोमल वलीको घोषणा

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँ बराबरको अक्षय कोष खडा गर्ने भएको छ । स्वर्गीय दीपा वलीको नवौँ पूण्यतिथिका दिन छोरी कोमल वलीले २० लाख बराबरको अक्षय कोष खडा गर्ने घोषणा गरेकी हुन् ।

उक्त अक्षय कोषमा राखिने रकमबाट थारु र दलित समुदायका छोरीहरुलाई कक्षा ८ देखि स्नातकोत्तरसम्म अध्ययनका लागि खर्च गरिने उनले जानकारी दिइन् । ‘हामीले आमाका नाममा २० लाख रुपैयाँ बराबरको अक्षय कोष खडा गर्ने निर्णय गरेका छौँ,’ नेकपा एमाले दाङ जिल्ला कमिटिले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले भनिन्, ‘उक्त रकमबाट थारु समुदाय र दलित समुदायका छोरीहरुको कक्षा ८ देखि स्नातकोत्तर तह सम्मको अध्ययनका लागि खर्च गर्नेछौँ ।’

यसैगरी, उक्त कोषमा जम्मा भएको रकमबाट आएको ब्याजबाट राजनीतिमा लागेर समाज रुपान्तरणमा अतुलनीय योगदान दिएका तर, लाभको पदमा नपुगेका महिलाहरुलाई सम्मान गर्नेसमेत उनले बताइन् ।

स्वर्गीय वलीले गीत संगीतका क्षेत्रमा पनि कलम चलाएकी छन् । उनले दुई दर्जन गीत रचना र भाका संकलन गरेकी छन् । कोमल वलीको चर्चित गीत ‘मलमलकिरी जुनकिरी’ दीपाकै रचना हो ।

त्यसबाहेक ‘सयपत्री उनेर लाउने बेलामा’, ‘नबुन ज्ञानी हजारीको’, ‘आँखै लाउने गाजलु’, ‘पढ छोरी, बढ छोरी’ लगायतका गीत पनि दीपाकै रचना हुन् । उनका गीत रेडियो नेपाल, म्युजिक नेपाल, रत्न रेकर्डिङलगायतमा रेकर्ड भएका छन् । तीज गीत, बाल गीत, राष्ट्रिय गीत, देउसी भैलोलगायतका गीत दीपाले रचना गरेकी छन् । वली पञ्चायतकालमा महिला संगठनको लुम्बिनी अञ्चल उपसभापति बनेकी थिइन् ।

वलीको गत मंसिर २ गते शनिबार ८२ वर्षको उमेरमा निधन भएको थियो । स्व। वलीका श्रीमान, दुई छोरा र दुई छोरी छन् । जेठा छोरा यामिन्द्र वली एमाले लुम्बिनी प्रदेश सदस्य, कान्छा छोरा नरेन्द्र वली पत्रकार, जेठी छोरी कोमल र कान्छी छोरी प्रज्ञा ‘शरद’ गायिका हुन् ।