Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

रुकुमपश्चिममा जीप दुर्घटना: २ जनाको मृत्यु, २० जना घाइते

रुकुमपश्चिममा जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय  मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बूढा छन् । 

बालकको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहारी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए । जीपमा सवार चालकसहित २० जना घाइते भएका छन् । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । उनका अनुसार अन्य पाँच जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए ।

आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जीप दुर्घटनामा परेको थियो ।  घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।