Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

स्वतन्त्रताको ठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथि प्रतिबन्ध अनुचित, फिर्ता लिइयोस्ः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले टिकटकमाथिको प्रतिबन्ध स्वीकार्य नहुने बताएका छन् । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत सरकारको उक्त कदमको विरोध गरेका हुन् । सामाजिक सञ्जाल बन्द गरेर सरकार निरंकुशताको बाटोमा हिँडेको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको ठूलठूला घ्वाँस दिनेहरुबाट टिकटकमाथिको प्रतिबन्ध अनुचित र अनुपयुक्त छ । यो निर्णय निरंकुशताको बाटो हो ।’ सरकारले भविष्यमा फेसबुक, ट्वीटरलगायत पनि बन्द गर्न सक्ने उनको भनाइ छ ।


उनले अगाडि भनेका छन्, ’कुनै पनि प्रकारका सामाजिक सञ्जालबाट हुनसक्ने विकृतिको नियमन र नियन्त्रण आवश्यक छ । तर त्यही नाममा प्रतिबन्ध स्वीकार गरिन्न । आज टिकटकमाथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स (ट्वीटर), फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ । कुनै पनि नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि लगाइने अंकुशको विरोध गरिन्छ ।’ टिकटमाथिको प्रतिबन्ध अविलम्ब फिर्ता हुनुपर्ने उनको माग छ ।