Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

फूल व्यावसायीको गुनासोः महानगरले तोकेको स्टलबाट बेच्दा घर फर्किने भाडासम्म उठेन (भिडियोसहित)

‘नयाँ ठाउँमा फूल खोज्दै कोही आएनन्, जस्तो राखेको थियो त्यस्तै छ’

काठमाडौँ महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै किसान–व्यापारीले गुनासो गरेका छन् । काठमाडौँ महानगरले भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि ठाउँ तोकेर ती ठाउँहरूबाट फूल बिक्री भइरहेको छ । तर त्यो ठाउँमा फूल बिक्री गरिरहेका किसानले भने महानगरको निर्णय ढिला हुँदा समयमा प्रचारप्रसार नपुगेका कारण आफूहरुको फूल बिक्री राम्रो नभएको दुःखेको गरेदद्धका छन् ।

भृकुटीमण्डपका फूल व्यापारीले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुसार बिक्री हुन नसकेको बताए । व्यापारी मंगेश लिम्बूले आफूहरू मर्कामा परेको बताए । फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या आफूहरुको लगानी र मेहनत खेर गएको बताए । व्यापारी लिम्बूले भने, ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो । विज्ञापन १५ दिनअघि गरेको भए व्यापारी र किसानलाई मर्का पर्ने थिएन । जानकारी भएको भए मान्छे फूल किन्न आउँथे ।’

त्यस्तै काभ्रे कोशिपारिबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल किन्न ग्राहक नआएको दुःखेसो गरे । उनले गाडी भाडा समेत नउठेको बताए । उनले भने, ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ । ग्राहक आएनन् । गाडी भाडासम्म उठेन । घर जानलाई उल्टै ऋण गरेर जानुपर्ने अवस्था आयो । यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्‍यो ।’

ओखलढुङ्गाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र विष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे । उनले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताएका छन् । उनले भने, ‘सरकारले भारतबाट फूल आउन नदिने भयो, किसानहरुले फूलको खेती बढाए । अहिले बिजोग छ । बिकेकै छैन । असन, इन्द्र चोकतिर सडकको पेटीमा बेच्ने गरेका थियौं । त्यता हुँदा धेरै ग्राहकहरु फूल खोज्दै आउँथे । अहिले त्यहाँ बेच्न नपाएर यहाँ आएका छौं । यहाँ माला बेच्न राखेको पहिलो पटक हो त्यसकारण यहाँ किन्न मान्छेहरु नै आउँदैनन् । जस्तो ल्याएर राखेको त्यस्तै छ, सोध्न आउने पनि कोही छैनन् ।’