Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

संकृतिविद् डा. जगमान गुरुङसँग तिहार विशेष सम्वादः ‘सप्तरंगी टीका किन ठाडो लगाइन्छ?’

संकृतिविद् डा.जगमान गुरुङले शान्ति सुरक्षाको नाउँमा देउसी भैलो खेल्ने समय तोकेर पावन्दी लगाउनु सरकारको कमजोरी भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले देउसी भैलोको मौलिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको मौलिकताको  निरन्तरताका लागि सबै सचेत हुनुपर्ने सुझाव दिए ।

तिहारको महत्व, प्रकृति (सयपत्री र मखमली फूल, मौसमी फलफूल–कटुस, विमिरो पूजा,अमला आदिको प्रयोग, ऋतु) मानव, पशुपंक्षी, संस्कृति, मौलिक परम्परा आदि तिहारको विविध पक्षमा नेपाल न्यूज बैंकले संस्कृतिविद् जगमान गुरुङसँग गरेको कुराकानीको मुख्य अंश हो यो ।

नेपाल ऋषि विशेषणले सुशोभित गुरुङले तिहारको महत्वपूर्ण मानिने मनोरञ्जनात्मक र सांस्कृतिक पक्ष देउसी भैलो खेल्ने परम्पराको मौलिकता हराउँदै गएको औंल्याएका छन् । एकातिर यसै पनि समयसँगै आएको परिवर्तनले संस्कृतिमाथि विगतका वर्षमा विकृति बढाएको र अर्कोतिर सरकारले शान्ति सुरक्षाको नाउँमा राती खेल्ने भैलो देउसी खेलमाथि पावन्दी लगाउनु उसको कमजोरी भएको उनको धारणा छ ।

‘पहिला पहिला देउसी भैलो टोली आफैँले देउसी र भैलो भट्याएर मौलिक तरिकाले आफूहरुले देउसी खेल्ने, नाच्ने गाउँने गरेको स्मरण गर्दै उनले भने, ‘शहरमा अहिले मेमोरी कार्ड राखेर डेक बजाएर देउसी भैलोको नाउँमा डिस्को नाच्न थाले । गाउँघरतिर अझै मौलिक रुपमा खेल्ने संस्कृति थोरै बचेको छ । देउसी भैलो विकसित भएन भनौं भने विकास भएर कहाँ पुग्यो, तर त्यसको मौलिक रुप भने हरायो । अघि यस्तो थियो, विकृति हुन दिनु हुँदैन र त्यसको मौलिक रुपको जगेर्ना गर्दै परम्परालाई समयानुकूल बचाएर लैजानुपर्छ भनेर हामीले सचेतना जगाउनुर्छ,’ गुरुङले भने ।

उनले देउसी भैलो संस्कृतिको मौलिकताको निरन्तरता र जगेर्ना गर्न सञ्चारमाध्यम, अभियन्ता र बुद्धिजीवी व्यक्तिहरु लाग्नुपर्नेमा जोड दिए । देउसी भैलो खेल्न विभिन्न स्थानमा प्रशासनले समय तोक्ने गरेको छ । विशेषगरी पर्वमा शहर बजारमा शान्ति सुरक्षा सुव्यवस्थित गर्ने उदेश्यले त्यसो गरेको प्रशासनले बताउँदै आएको छ । त्यसमा पनि पछिल्लो समय भड्किलो पारामा देउसी भैलो खेल्ने प्रवृति बढेकोले समय तोकेर खेल्न दिएको प्रशासनको भनाई छ ।

Jag Man Gurung(1).jpg

संस्कृतिविद् गुरुङले भन्छन्, ‘अहिले कतै रातीको १० र कतै ११ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने भनेर समय तोकेरै रोक लगाएको छ । त्यसरी रोक लगाउनु सरकारको कमजोरी हो, व्यवस्थाको कमजोरी हो । अघि अघि त रातैभरी देउसी भैलो खेल्थे, संयमित पनि थियो । बरु कसरी देउसी भैलोलाई संयमित बनाउने र संरक्षण कसरी गर्ने भन्ने त सरकारको दायित्व हो । डराएर खेल्ने समय तोक्ने होइन नि ।’

उनले महिला पुरुषले सँगसँगै देउसी भैलो खेलेको प्रति टिप्पणी पनि गरे । ऋतु, प्रकृति, मानव, पशुपंक्षी र देवता पृथ्वीको सबै पक्ष एक आपसमा  जोडिएको तथा हामीले गर्ने यमपञ्चकको पूजा, लगाउने भाईटीका, भाईटीका लगाउँदा पूज्ने विधि र दिने मसलाको वैज्ञानिक कारण रहेको उनले बताए ।

‘सप्तरङ्गी टीका किन तेर्सो नलगाएर ठाडो लगाइयो ? त्यसको विज्ञान के हो भने तिहार चन्द्रमास र सौर्यमास अनुसार कार्तिकमा नै पर्छ । कार्तिकमा सौर्यमण्डलका अधिपति सूर्य तुला राशीमा निचो भएर बस्छन् । त्यो निचो सूर्यको विकीरणले भूमण्डल विशाक्त हुन्छ । त्यसले गर्दा मानिसको विचार पनि विशाक्त हुन्छ । त्यसले नराम्रा काम, उपद्रो हुन थाल्छ ।

त्यसकारण सात रङ्गको प्रतीकको रुपमा सप्तरङ्गी टीका लगाइन्छ । सो टीका ठाडो किन लगाईयो भने मानिसको दाइने आँखा सूर्य, देव्रे आँखा चन्द्रमा र ठाडो आँखाको रुपमा अग्नी–तेस्रो ज्ञानको नेत्र हो । ठाडो टीका लगाएपछि ज्ञानको नेत्र खुल्ने र निचो सूर्यको विकीरणले मान्छेको विचार विशाक्त नहोस् भनेर सप्तरङ्गी टीका ठाडो लगाइन्छ’, गुरुङले भाईटीका बारे अथ्र्याए ।  

हेर्नुहोस् भिडियो: