Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

चिसोको मारमा भूकम्पपीडितः दुईको मृत्यु, अझै पुगेन राहत (तस्बिरहरु)

पानी परेपछि थपियो चिन्ता, स्वास्थ्य समस्या बढ्दै

जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझै राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । त्रिपालबिना खुला चौरमा बसिरहेका सर्वसाधारणमा ज्वरो, टाइफाइड सुरु भएको नलगाड नगरपालिका–८ का रामप्रसाद खत्रीले बताए ।

बारेकोट गाउँपालिका–१ धौलाकोटमा पनि राहत सामग्री पुग्न सकेको छैन । स्थानीय हरिबहादुर थापाले भूकम्पपीडितमा चिसोका कारण ज्वरो र झाडापखाला देखा परेको बताए । उनले भने, ‘गाउँपालिकासँग जति पटक माग्दा पनि राहत पाइएको छैन, भूकम्पको केन्द्रविन्दु रामीडाँडादेखि धौलाकोट नजिकैको गाउँ हो तर अहिलेसम्म त्रिपाल पनि पुगेको छैन ।’ बारेकोट चिसो ठाउँ हो । बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले राहत पर्याप्त नभएको र सबैले नपाएको बताए । उनका अनुसार बारेकोटमा अझै एक हजार सात सय थान त्रिपाल अपुग छ ।

Bhukampa-jajarkot-4-1.webp

नलगाड नगरपालिकामा पनि सबैलाई राहत पुगेको छैन । नगरपालिकाको वडा नं १ देखि ७ सम्म राहत वितरण गरिए पनि वडा नं ८ देखि १३ का बासिन्दाले राहत सामग्री पाएका छैनन् । नलगाड वडा नं ८ बारेकोट गाउँपालिकाको वडा नं ८ सँग जोडिएको पालिका हो भने वडा नं ९ बारेकोटको धुमालगायतका क्षेत्रसँग जोडिएको क्षत्र हो । नलगाड वडा नं ८ पालिकामा सबैभन्दा धेर जनसङ्ख्या भएको क्षेत्र हो । त्यहाँ केही संस्थाले आफूखुसी राहत सामग्री वितरण गर्दा सबैले नपाएको स्थानीय भीमबहादुर खत्रीले बताए । प्रभावकारीरुपमा अनुगमन तथा निरीक्षण नगरी निर्णय गर्दा आफूहरु पीडित भएको उनको भनाइ छ ।

भूकम्पका कारण नलगाड–८ का सबै घरमा क्षति पुगेको छ । बतासे चिउरी बर्मा वन सामुदायिक संस्थाका सचिव जयबहादुर खत्रीका अनुसार बाहिरबाट हेर्दा सग्लो घर देखिए पनि बस्न लायक कुनै पनि घर छैनन् । आज विहानदेखि पर्न थालेको पानीले प्रभावितलाई थप पीडा दिएको छ । अधिकांश घरबाट छाएको ढुङ्गा झरेका छन् । भूकम्पले चिराचिरा पारेको घर पानी पर्न सुरु भएसँगै भत्कने चिन्ता थपिएको छ । कसैले एकसरो त्रिपाल नपाएको अवस्थामा कसैलाई दुई पटकसम्म दिएका पाइएको भेरी नगरपालिका–३ का रामकली थापाले बताए ।

Bhukampa-1-2.webp

सदरमुकाम खलङ्गामा कोठा भाडामा लिएर बस्नेलाई कसैले पनि राहत पाएका छैनन् । राहत माग्न जाँदा घर मालिकको मात्रै नाम भेटिने गरेको र आफूहरुलाई सूचीमा नाम नै नभएको बारेकोट गाउँपालिका–४ घर भई सदरमुकाममा बस्दै आएका मालबहादुर सिंहले गुनासो गरे । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य प्रभात चलाउनेले पालिकामा धेरै राहत आएको भनिए पनि अझै ४० प्रतिशतले राहत नपाएको बताए ।

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या
भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

अत्यधिकरुपमा बढेको जाडोका कारण बिहीबार र शुक्रबार दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा नलगाड नगरपालिका–४ लहँका ४८ वर्षीया महिला पम्फा रावल र सोही वडाकै ८४ वर्षीय गोपालबहादुर रावल छन् । वडाध्यक्ष बद्री पन्तका अनुसार गोपालको दम रोगका कारण र पम्फाको निमोनियाका कारण मृत्यु भएको हो । चिसोले निमोनिया भएपछि उपचारका क्रममा दल्लीस्थित नगर अस्पतालमा पम्फाको मृत्यु भएको उनले बताए । वडाध्यक्ष पन्तका अनुसार लहँमा तुसारो परेको र सिरेठो जाडो पनि बढ्दै गएपछि एकसरो लुगा र त्रिपालका भरमा रात काट्नुपर्ने बाध्यताका कारण ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीमा स्वास्थ्य समस्या देखिन थालेको छ ।

Bhukampa-2-2.webp

उनका अनुसार तीन सय ७५ घरधुरी रहेको वडामा नं ४ मा दम, बाथ र मुटु रोगी ३० ज्येष्ठ नागरिक र ३० जना सुत्केरीको व्यवस्थापन गर्न समस्या भएको छ । बालबालिका बिरामी हुन थालेको भन्दै वडाध्यक्ष पन्तले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिरामीको संख्या बढ्न थालेको बताए ।

दल्ली नगर अस्पतालका डा. विशाल उप्रेतीले चिसोका कारण ज्वरो, रुघाखोकी, झाडापखाला, मुटुरोग र दमका बिरामी बढिरहेको जानकारी दिए । उनले अस्पतालमा ज्येष्ठ, नागरिक, बालिका, महिला गरी दैनिक एक सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ । भूकम्पले बाग्मारे–कल्लेरी, तिपतिपे–औल र चतुलाइना–कोठीगाउँ खानेपानीलगायत करिब ५० योजनामा क्षति पुग्दा खानेपानी सङ्कट बढेको नगर प्रमुख रावतले बताए । ‘स्थानीयहरु नदीको दुषित पानी खान बाध्य छन्’, उनले भने, ‘अधिकांश स्थानीयका शौचालय भत्किएपछि खुलास्थानमा शौच गर्न बाध्य भएकाले रोग फैलने खतरा बढेको छ ।’

Bhukampa-jajarkot-2-3.webp

नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. श्याम विकले भेरी नगरपालिकाको रावतगाउँ, नलगाडको चिउरी, कालेगाउँलगायत ठाउँमा चार दिनसम्म बसेर करिब चार सय बिरामीको उपचार गरेर फर्किएको बताए । उनका अनुसार भूकम्प गएको एक-दुई दिनदेखि नै बालबालिका र ज्येष्ठ नागरिकमा निमोनिया र दमको लक्षण देखिन थालिसकेको थियो । नियमित औषधि सेवनकर्ताको भूकम्पले घर भत्काउँदा औषधि पुरिएपछि उनीहरुले औषधि खानबाट वञ्चित भए जसले गर्दा उनीहरुमा चिसोले असर पार्दै गएको छ ।

Bhukampa-jajarkot-1-2.webp

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले पीडितका आधारभूत आवश्यकता परिपूर्ति गर्न निरन्तर लागि परेको बताए । ‘एकैपटक सबै कुरा गर्न गाह्रो छ तथापि प्रतिपरिवार एउटा त्रिपाल र कम्बल दिएका छौँ’, उनले भने । एक,एक थान त्रिपाल र कम्बलकै साहारामा रात कटाउनु पर्दा सिरेठो जाडोले ज्येष्ठ नागकि, बालबालिका र सुत्केरीमा दम, रुघाखोकी, निमोनिया, ज्वरो, झाडापखालालगायत स्वास्थ्य समस्या देखिन थालेको उनको भनाइ छ ।

Bhukampa-jajarkot-3-1.webp