Jul 12 2026

Jul 12 2026 | आइतवार, आषाढ २८ गते २०८३

दोस्रो मौका खोजिमा आदिपुरुषका लेखक मनोज

 भारतीय फिल्म आदिपुरुष रिलिजपछि कोही सबैभन्दा आलोचित भए भने ती व्यक्ति फिल्मका लेखक मनोज मुन्तशिर थिए । फिल्मको कहानी र डाइलगका कारण सामाजिक सञ्जालमा मनोज निकै आलोचित बने । नेपालमा पनि यो फिल्मको निकै विरोध भयो ।

काठमाडौँका मेयरले फिल्मको प्रदर्शन नै रोकिदिए । एकपछि अर्को आलोचना बढ्दै गएपछि मुन्तशिरले माफी मागे । तर स्थिति साम्य होला भन्दा झन् झन् चर्कियो । आलोचना थेग्नै नसकेपछि उनले केही समयमा सामाजिक सञ्जालबाट बेपत्ता बने । 

कहानी लेख्नमा गल्ती नै भएको थियो

आदिपुरुषको कहानी लेख्ने मामिलामा आफू चुकेको मनोजले स्वीकारेका छन् । लेख्ने मामिलामा आफू पूरै चुकेको उनले बताए । आफूले राम्रो त लेखेको थिएँ भनेर लेखन क्षमताको वचाउ गर्दै हिँड्ने इनसिक्योर मान्छे आफू नभएको अनि शत प्रतिशत आफूबाट गल्ती भएको उनको भनाइ थियो । आफ्नो आशय धर्मलाई ठेस पुर्‍याउनु अनि सनातन धर्मलाई दुःख दिनु वा भगवान् रामलाई कलङ्कित गर्नु, हनुमानको बारेमा नभएको कुरा भन्नु  बिलकुल नभएको उनले बताए । आफूबाट ठुलो गल्ती भएको अनि यो घटनाबाट आफूले धेरै कुरा सिकेको पनि उनले बताए ।

आगामी दिनमा उच्च सतर्कता अपनाउने उनको भनाइ छ । फिल्मले यस्तो खालको प्रतिक्रिया पाउँछ भनेर चाहिँ उनले कहिले पनि सोचेका थिएनन् । फिल्म राम्रो नियतले बनाएको थियो । ६ अर्ब रुपैयाँ खर्चेर बनाएको फिल्म राम्रो होस् भनेर नचाहने को होला र? फिल्म बनाएर उल्टै करियर नै खत्तम होस्, ध्वस्तै होस् भनेर कसले चाहन्छ र? फिल्मको पछाडि आफूहरूको कुनै एजेन्डा नभएको तर बिस्तारै बिस्तारै स्थिति बिग्रिँदै गएको उनी बताउँछन् । विवाद उत्कर्षमा पुगेकै बेलामा सफाइ दिनु नै आफ्नो सबैभन्दा ठुलो गल्ती भएको मनोज आफैँ पनि स्वीकार गर्छन् । मानिसहरू रिसले चुर भएको बेलामा आफू बोल्नै नहुने उनले अहिले महसुस गरेका छन् ।

आदिपुरुषको कहानीको मामिलामा स्थिति यति बिग्रिएको थियो कि मनोजलाई मार्ने धम्की समेत आएको थियो । तर जे जस्तो भए पनि आफूले दोस्रो मौका भने ‘डिजर्भ’ गर्ने मनोज बताउँछन् । आदिपुरुषमा ‘एक्सपेरिमेन्ट’ गर्न खोजिएको थियो, तर यो पूरै विफल साबित भयो । बाहुबलीको कथा पनि मनोज मुन्तशिरले लेखेका हुन् । विगतमा राम्रो काम गरेकोले आफूले दोस्रो मौका पाउनु पर्ने दाबी मनोजले गरेका छन् ।