नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले जनाएको छ ।
अब डिजेल र मट्टीतललाई काठमाडौं, पोखरा र दिपायलमा १६४ रुपैयाँ पर्ने छ । सुर्खेत र दाङमा प्रतिलिटर १६३ रुपैयाँ पर्ने छ । यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १६२ रुपैयाँ पर्ने छ । घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुनेछ ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर १.५१ रुपैयाँ बढेर तथा डिजेलको मूल्य प्रतिलिटर ३.६३ रुपैयाँले घटेर आएको छ । यस्तै, एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर ९३ रुपैयाँ बढेर आएको छ ।
आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।