Jul 16 2026

Jul 16 2026 | बिहिवार, आषाढ ३२ गते २०८३

शान्ति प्रक्रियाका नाममा राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा निम्त्याउनु घातक: विष्णु रिजाल

नेकपा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले शान्ति प्रक्रियाका बाँकी कामका नाममा संयुक्त राष्ट्रसङ्घलाई नेपालको राजनीतिमा पुनः निम्त्याउनु अत्यन्त घातक र दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्य निरुपण तथा मेलमिलाप पीडितलाई ध्यानमा राखेर नेपाली आफैँले गर्ने हो भन्दै विदेशीले आएर नेपालीलाई कहाँनेर दुख्यो भन्ने थाहा नपाउने बताए । सत्य निरूपण तथा मेलमिलापको काम पीडितलाई ध्यानमा राखेर सम्पन्न गर्नुपर्नेमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड त्यसमा तयार नरहेको उनको टिप्पणी छ । उनले प्रधानमन्त्री प्रचण्ड पीडितको पक्षमा नभएर पीडकको पक्षमा उभिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण शान्ति प्रक्रिया टुङ्गोमा पुग्न नसकेको समेत बताए ।

उनले भनेका छन्– ‘मुख्य समस्या देशको मुख्य कार्यकारी नै पीडितका होइन, पीडकका पक्षमा भइदिए पछि अरूले जति कोसिस गरे पनि समस्या समाधान हुन्न ।’ नेता रिजालले अनमिनका नाममा प्रक्रिया लम्ब्याएर माओवादी लडाकुको व्यवस्थापन गर्नै नदिएको र अनमिनलाई बिदा गरेपछि मात्र लडाकु समस्या समाधान भएको स्मरण गरे ।