Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

हुम्लामा विद्युत् सेवा अवरुद्ध

 बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन् ।

नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको विद्युत्गृहको मुख्य क्यानलमा पाइप जडान गर्ने कार्य हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । मुख्य क्यालनमा रहेको अस्थायी पाइप हटाइ उक्त स्थानमा पाइप जडान गर्ने कार्य भइरहेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाका प्रमुख नारायणप्रसाद कर्णले बताए। यही कात्तिक ९ देखि २२ गतेसम्म पुननिर्माण कार्य हुने भएकाले १३ दिनसम्म यहाँ विद्युत् सेवा उपलब्ध नहुने प्रमुख कर्णले जानकारी दिए। हिउँदयाममा भारी हिमपात हुने तर विद्युत्का लागि आवश्यक पानी नपुग्नुका साथै पहिरो जाने भएको हुँदा हिमपात हुनुअगावै मर्मत गरिएको हो ।

विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा अन्धकार भएको हो भने दसैँ बिदा सकिएलगत्तै सिमकोटमा रहेका सरकारी तथा गैरसरकारी कार्यालय खुला हुने भए पनि विद्युत् सेवा अवरुद्ध हुँदा काम गर्न असहज हुने भएको छ । यसबाट सिमकोट र खार्पुनाथ गाउँपालिकाका करिब दुई हजार दुई सय बढी सेवाग्राही प्रभावित भएका छन् ।