Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

इटालीकी प्रधानमन्त्रीले आफ्नो पार्टनरसँगको १० वर्ष लामो सम्बन्ध किन समाप्त गरिन्?

 इटालीकी प्रधानमन्त्री जियोर्जिया मेलोनीले आफ्नो पार्टनरबाट अलग भएको घोषणा गरेकी छन्।  आफ्ना पार्टनरले भद्दा टिप्पणी गर्दै प्रेम प्रसङ्गको कुरा स्वीकार गरेपछि आफूले अलग रहने घोषणा गरेको उनले बताएकी छन्। 

“करिब १० वर्षदेखिको एन्ड्रिया जियाम्ब्रुनोसँगको मेरो सम्बन्ध यहीँ समाप्त हुन्छ”, आफूहरूको बाटो केही समयका लागि अलग भएको उल्लेख गर्दै प्रधानमन्त्री मेलोनीले सामाजिक सञ्जालमा भनेकी छन्। 

टेलिभिजन प्रस्तोता जियाम्ब्रुनोले रेटे ४ कमर्सियल स्टेसनमा आफ्नो टक शो ‘डाइरियो डेल जिओर्नो’ (डेली डायरी) को अफ–एयरमा महिला सहकर्मीमाथि खुलेर यौन र यौनवादी टिप्पणी गरेको फेला परेपछि प्रधानमन्त्री मेलोनीको उक्त घोषणा आएको हो।

‘तिमीलाई कस्तो छ डार्लिङ, के तिमीलाई थाहा छ (नाम परिवर्तन गरिएको ) र मेरो अफेयर चलिरहेको छ ? सबै टेलिभिजन कम्पनीलाई यो थाहा छ र अब तिमीलाई पनि थाहा छ’, एक महिलासँग उनले कुरा गरेको सुनिन्छ । ‘तर हामी तेस्रो व्यक्ति खोजिरहेका छौँ किनभने हामी तीन जना गर्छौँ, चार जना पनि गर्छौँ, के तिमी हाम्रो कार्य समूहको हिस्सा बन्छ्यौ ?’, मङ्गलबार र बिहीबार विभिन्न टेलिभिजन च्यानलमा प्रसारित टिप्पणीमा उनको भनाइ सुनिन्छ ।

४६ वर्षीया मेलोनीले यसै साता दक्षिणपन्थी सरकारको प्रमुखका रूपमा एक वर्ष पूरा गर्दै छन् । उनको पार्टीले परम्परागत पारिवारिक मूल्यमान्यताको दृढतापूर्वक बचाउ गर्छ । अगस्टमा आफ्नो टक शोमा बलात्कारका बारेमा गरेको टिप्पणीलाई लिएर पीडितलाई दोषी भनेको आरोप लागेपछि जियाम्ब्रुनोको बचाउका लागि प्रधानमन्त्री मेलोनी बाध्य भएकी थिइन् ।