Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

डा. बाबुराम भट्टराईलाई प्रश्न - नेपाली युवामा देखिएको विदेश मोह र तीव्र पलायनको संकेत के हो?

नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा. बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र  प्रमाणपत्र तह (आइएससी) मा सर्वोत्कृष्ट अङ्कसहित उत्तीर्ण भट्टराईले छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतको चण्डीगढबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक, दिल्लीको स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्चरबाट स्नातकोत्तर र जवाहरलाल नेहरु विश्वविद्यालयबाट रिजनल डेभलपमेन्ट एन्ड प्लानिङ विषयमा विद्यावारिधि गरेका छन् । उच्च शिक्षा अध्ययनका क्रममा वामपन्थी झुकाव राखेका डा. भट्टराईले अध्ययन समाप्त भएपछि तत्कालीन पञ्चायती व्यवस्था विरोधी गतिविधिमा सरिक हुँदै २०३७ सालमा मोहनविक्रम सिंहमार्फत नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए ।
 
पञ्चायतविरुद्धको आन्दोलनका क्रममा वामपन्थीहरूको मोर्चा, संयुक्त राष्ट्रिय जनआन्दोलनको उहाँ संयोजक बने। डा भट्टराईका नेतृत्वमा संयुक्त जनमोर्चा नेपाल गठन भई निर्वाचनमा भाग लिएर प्रतिनिधिसभाको तेस्रो ठूलो दल बन्न सफल भयो । विसं २०५२ देखि सुरु दसवर्षे जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गरेका डा भट्टराई शान्ति प्रक्रियापछि पहिलो संविधानसभाको पछिल्लो कालखण्डमा मधेस केन्द्रित दलसमेतको समर्थनमा प्रधानमन्त्री बनेका थिए भने दोस्रो संविधानसभा निर्वाचनमा पनि गृह जिल्लाबाट नै निर्वाचित भएका थिए। संविधान जारी गर्न सफल दोसो संविधानसभाअन्तर्गत संवैधानिक समितिका सभापतिको भूमिका निर्वाह गरेका डा भट्टराई सफल अर्थमन्त्रीका रूपमा समेत चिनिन्छन् । पछिल्लो समय तत्कालीन नेकपा (एकीकृत माओवादी) परित्याग गरेका डा भट्टराई नयाँ शक्ति पार्टी, सङ्घीय समाजवादी पार्टी हुँदै नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् । डा भट्टराईसँग अशोक घिमिरेसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंशः
 
पछिल्लो समय युवा, विद्यार्थीको विदेश पलायन तीव्र भएको छ, यसले मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षमा कस्तो दूरगामी असर गर्छ? यसलाई निराकरण गर्न के गर्नुपर्छ ?
 
–केही समययता जसरी हाम्रो श्रमिक विदेश पलायन हुने चक्र चलेको थियो, त्यसमा केही वर्षयता उच्च शिक्षाका निम्ति युवा, विद्यार्थी विदेश पलायन हुने प्रवृत्ति बढेको छ । यसलाई वस्तुगत र आत्मगत पक्षबाट हेर्नुपर्छ । पूँजीवादी विकासको एउटा नियम के हुन्छ भने ठूलो चुम्बकले सानो चुम्बकलाई तान्छ । पछिल्लो चरणमा जुन ढङ्गको पूँजीवादको विकासको केन्द्र एसियाको क्षेत्र बनिरहेको छ र नेपालका तुलनामा भारत, खाडी, मलेसियालगायत देश अगाडि बढ्नु आदिले गर्दा ती मुलुकमा श्रमको आवश्यकता बढी भएकाले तिनीहरूले हाम्रा श्रमिकलाई यहाँभन्दा बढी सुविधा दिन सक्ने कारणले आकर्षण बढाएर लगेका छन् । त्यसैगरी युरोप, अमेरिका सुरुदेखि नै स्वतः ज्ञानविज्ञानमा अगाडि छन्, हाम्रा युवालाई उच्च शिक्षाको आकाङ्क्षा बढाएर त्यता तान्नु वस्तुगत प्रक्रिया हो । यो निरन्तर भइराख्छ ।
 
आत्मगत ढङ्गले हामीले आफैँले यहाँ आफूअनुकूल वातावरण र रोजगारी सिर्जना गर्न नसकेर, जीवनसँग जोडिएको गुणस्तरीय प्राविधिक शिक्षा दिन नसकेर हाम्रा श्रमिकलाई वैदेशिक रोजगारीमा जान बाध्य पार्ने र विद्यार्थीलाई गुणस्तरीय शिक्षाका निम्ति विदेश जान बाध्य पार्ने काम भइरहेको छ, यो गम्भीर छ । राजनीतिक नेतृत्वले आत्मसमीक्षा गरेर यसको उचित उपाय खोज्नुपर्छ । बाहिरबाट तान्ने त स्वाभाविक हो । तर हामीले गर्न सक्ने भनेको चाहिँ साधनस्रोतको सदुपयोग गरेर उपयुक्त आर्थिक विकासको नीति अपनाउने र श्रम निर्यात गर्ने होइन, बाहिरबाटै पूँजी र प्रविधि आयात गरेर वस्तु र सेवा निर्माण गरी निर्यात गर्नेतर्फ जानुपर्छ । अहिले हामीले श्रम निर्यात र वस्तु आयात गरिरहेका छौँ, यस्तो परनिर्भरताले देश कहिल्यै बन्दैन । त्यसकारण यो बाटो सच्याउनुपर्छ । अर्को, हाम्रो शिक्षा अत्यन्त पुरातन खालको छ, जीवन र रोजगारीसँग जोडिन सकेको छैन । त्यसकारण युवाहरू बाहिर जान बाध्य छन् । शिक्षा क्षेत्रमा आमूल सुधार गर्ने, गुणस्तरीय शिक्षा प्रदान गरेर रोजगारीको वातावरण सिर्जना गर्ने दिशामा जानुपर्छ ।
 
पछिल्ला दिनमा हिन्दू राज्यको विषयलाई उचालेर सदनदेखि सडकसम्म आवाज उठ्न थालेको छ । लामो समयदेखि जनताका पक्षमा लागेका राजनीतिक दलभन्दा पनि स्वतन्त्र भनिएका पक्षहरूको हल्ला धेरै सुनिन्छ । यसले के सङ्केत गरिरहेको छ ?
 
–जनतामा असन्तुष्टि हुनु त स्वाभाविक मान्नुपर्छ । असन्तुष्टिले नै राम्रो काम गर्न अभिप्रेरित गर्छ तर अहिले त्यसका नाउँमा व्यवस्थालाई नै भत्काउने र पछि फर्काउने जुन कुरा गर्छन्, त्यो सत्य हुँदैन, उल्टो बाटो हिँडेर संसारमा कोही पनि अगाडि बढ्न सक्दैन । जहाँ अवरोध छ, त्यसलाई पो हल गर्ने हो, गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्र त आधुनिक युगका लोकतन्त्रका आधारभूत मान्यता हुन् र नेपाली संविधानका महत्वपूर्ण चार खम्बा हुन् । यीमध्ये एउटा खम्बा भत्काइयो भने लोकतन्त्र नै रहँदैन । खासगरी राजतन्त्रवादी शक्तिले जनताको पिछडिएको चेतनाको दोहन गरेर हल्ला गरेका हुन् । ‘सिधै राजा ल्याऊ’ भन्दाखेरि त जनतामा ‘पपुलर हुन’ सकिँदैन, नेपाल बहुधार्मिक मुलुक हो, यहाँ हिन्दू, बौद्ध, मुस्लिम, किराँत, बोनलगायत थुप्रै धर्मावलम्बी छन् । तीमध्ये हिन्दूको सङ्ख्या अलि बढी छ, त्यसैले उनीहरूले हिन्दूमा त्यस खालको भय सिर्जना गरेर यो संविधान भत्काउनका निम्ति धार्मिक मुद्दा उठाएका छन् । यसलाई बेलैमा बुझ्नुपर्छ । विश्वव्यापी रूपमा जहाँजहाँ पूँजीवादको सङ्कट आइरहेको छ, त्यसलाई अग्रगामी ढङ्गले हल गर्नाको साटो जनताको पिछडिएको चेतनाको दोहन गरेर इतिहासलाई पछाडि फर्काउने प्रयत्नप्रति हामी बेलैमा सतर्क भएर अगाडि बढ्नुपर्छ । धर्म व्यक्तिको आस्थाको कुरा हो, यसलाई सम्मान गर्ने विषय रहन्छ तर धर्मको राजनीति गर्नेहरू प्रतिगामी सोच राख्ने शक्ति छन्, तिनलाई बेलैमा चिनेर निषेध गर्नुपर्छ ।
 
भिडियो पनि हेर्नुहोस् -
 
संविधान निर्माण प्रक्रियामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको तथा मुलुकको राजनीतिक–सामाजिक परिवर्तनको आन्दोलनमा होमिनुभएका बौद्धिक नेताका हैसियतले यहाँले नेपालको संविधान र यसको कार्यान्वयनको पाटालाई कसरी हेर्नुभएको छ ?
 
–संविधानसभाबाट संविधान बनाउने कुरा धेरै ऐतिहासिक महत्त्वको विषय हो । जनताको सहभागिता र इच्छाले नै राज्य सञ्चालन हुनुपर्छ भन्ने मान्यता हो । जनता नै सार्वभौमसत्ता सम्पन्न बन्ने कुरा लोकतन्त्रको आधारभूत पक्ष हो । त्यसको व्यावहारिक कार्यान्वयन भनेको जनताले आफ्नो संविधान आफैँ बनाउने हो । त्यसलाई नै इतिहासमा संविधानसभा भन्ने गरिएको हो । नेपालमा भने दुर्भाग्यवश २००७ सालदेखि यो प्रश्न उठे पनि पटकपटक छाडिँदै गयो र अन्ततः करिबकरिब विलयजस्तै भयो । त्यतिबेलाका नेताहरू बिपी कोइराला, पुष्पलाललगायतले पनि यसलाई कार्यान्वयन गर्न सक्नुभएन । मुख्यरूपमा २०४६ सालको आन्दोलनपछि त्यतिबेलाका नेपाली कांग्रेस,  नेकपा (एमाले) र वाममोर्चा मुख्य शक्तिका रुपमा उदय भए  । उनीहरूले पनि सो मुद्दालाई छाडिदिनुभयो । संयुक्त राष्ट्रिय जनआन्दोलन भन्ने वामपन्थीको पक्ष थियो । त्यतिबेला म त्यसको प्रवक्ता थिएँ । म पश्चिमा फ्रान्सेली क्रान्तिलगायतबाट पनि प्रभावित भएको र संविधानसभाबाट संविधान नबनेसम्म लोकतन्त्र पूरा हुँदैन भन्ने मान्यता आत्मसात् गरेकाले त्यस विषयलाई २०४६ सालदेखि नै पटकपटक उठाएका थियौँ । त्यसैलाई नै माओवादी जनयुद्धका रुपमा मुख्य माग बनायौँ । जनयुद्धको प्रतिफलस्वरूप नेपालमा संविधानसभाबाट संविधान बन्ने काम सम्पन्न भयो ।
 
नेपालमा कोही मान्छे सातवटा संविधान बने भन्छन् तर खास गरी एउटै संविधान बनेको हो । त्यसभन्दा अगाडि राजा, महाराजाहरूले आफ्नो सुविधानुसार दबाब  परेका बेला खुकुलो खालको र आफ्नो एकलौटी भएका बेला निरङ्कुश खालको संविधान जारी गरेका हुन् । उनीहरुले “हामीमा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग गरी यो संविधान जारी गरेका छौँ” भने तर संविधानसभाबाट निर्मित संविधानमा हामीले “सार्वभौमसत्तासम्पन्न संविधानसभाबाट यो संविधान जारी गरेका छौँ” भनेका छौँ । नेपाली इतिहासका लागि यो अत्यन्त महत्वपूर्ण ऐतिहासिक घटना हो । त्यसैले पहिलो कुरा विधिको हिसाबले संविधानसभाबाट संविधान बन्ने विषयलाई कसैले पनि ‘किन्तु परन्तु’ गर्नै हुँदैन । जसले यसको महत्त्व नबुझेर संविधान भएन, फ्याकिदिऔँ भन्न खोज्छन् तर संविधान संविधानसभाले नै बनाउनुपर्छ, अर्को कसैले आएर संविधान बनाउन सक्दैन । संविधान दिवसका सन्दर्भमा यो पाटो र यसको ऐतिहासिक महत्त्व सबैले बुझ्न जरुरी छ । संविधानसभाबाट नेपालमा पहिलो संविधान बनेको हुनाले प्रक्रियागत हिसाबले यो ऐतिहासिक घटना थियो । हामी सबै मिलेर संविधानको रक्षा गर्नुपर्छ । कुनै पनि बहानामा यसलाई कमजोर पार्न हुँदैन ।
 
संविधान घोषणा भएलगत्तै ‘गिलास आधा भरी, आधा खाली’ भन्नुभएको थियो । संविधानमा समेट्न नसकिएका विषय वस्तु के हुन्  ?
 
–जहाँसम्म संविधानको विषयवस्तुको कुरा छ, यो त समयानुकूल, समाजको चेतना, आर्थिक–सामाजिक विकासको स्तर र राजनीतिक शक्तिबीचको शक्ति सन्तुलनका आधारमा ‘कन्टेन्ट’ बन्ने हुन्छ । हाम्रा सन्दर्भमा राष्ट्रिय औद्योगिक पूँजीको विकास नभइसकेको, कृषिप्रधान अर्थतन्त्रको बाहुल्य रहेको, सामन्तवादी सोच एवं संस्कार हाबी रहेको तथा हाम्रा संस्थाहरू लामो लोकतान्त्रिक अभ्यासबाट नगुज्रेको, नेता र जनताको चेतना पनि नउठेका कारण संविधानको केही अपूर्णता त छन् तर पनि समकालीन विश्वमा ‘कन्टेन्ट’का हिसाबले नेपालको संविधानमा उल्लेख भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता धेरै महत्वपूर्ण छन् । म आफैँ यो संविधासभाका निम्ति निरन्तर लडेको र संवैधानिक समितिको सभापतिका रूपमा भूमिका निर्वाह गरे पनि यसका केही अपूर्णता छन्, जुन मैले संविधान जारी भएको दिनदेखि नै भनेको छु । यो संविधान आधा भरी, आधा खाली छ, मैले किन भनेको हो भने, भरी त भरिएकै हो । संविधानसभाबाट संविधान जारी गर्नु नै भरिनु हो ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको सारवस्तु हुन पनि भरिएको नै हो । तर अपूर्ण चाहिँ कहाँनेर हो भने शासकीय स्वरूप मिश्रित प्रकृतिको बनायौँ, त्यसले देशमा राजनीतिक स्थिरता दिन सकेन, त्यसैले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को व्यवस्था हुनुपथ्र्यो । यो ठूलो त्रुटि भयो भन्ने मेरो त्यो बेलादेखिको बुझाइ हो र दुई पटकको निर्वाचनपछि पनि त्यो कमजोरी देखिइरहेको छ । नेपाल जस्तो जातीय, क्षेत्रीय विविधतायुक्त मुलुकमा सङ्घीयता अनिवार्य थियो, तर हामीले ठीक ढङ्गले संविधानसभाले तय गरेको ‘पहिचानका पाँच र सामथ्र्यका चार आधार’ अनुसार संविधान बनाउन नसक्दा ‘खिचडी’ खालको बनेको छ, त्यसले गर्दा सङ्घीयता सोचेजस्तो आवश्यकतानुरूप हुन सकेन । न्यायालयलगायत राज्यको निकायको पुनःसंरचना गरिनुपर्छ भन्ने हाम्रो मान्यता थियो । संवैधानिक आयोग, न्यायालय लगायतलाई पनि अझै बढी लोकतान्त्रिकीकरण गरेर लैजान सक्नुपथ्र्यो । त्यसमा पनि हामी अलिकति चुकेका छौँ । संविधान दिवसका अवसरमा मूल्याङ्कन गर्दाखेरि इतिहासको यस सापेक्षतामा यसको सकारात्मक पक्षको रक्षा र अपूर्णता पूरा गर्ने ढङ्गले जानु नै उपयुक्त हुन्छ ।
 
संविधानको मर्म र भावनानुसार आवश्यक ऐन कानुन बन्न नसक्दा राज्य सञ्चालन प्रक्रिया प्रभावित हुन पुगेको छ । व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको भन्ने गुनासो आउन थालेको छ । यसलाई कसरी हेर्नु भएको छ ?
 
–संविधानमा त्रुटि रहेको एउटा पाटो मैले भनिहालेँ । संविधान नै संशोधन गर्नुपर्छ । संविधानमा लेखिएका विषयलाई ठीक समयमा ठीक ढङ्गले कानुन बनाएर कार्यान्वयन नगर्नु अर्को पाटो बनेको छ । मौलिक अधिकारसम्बन्धी थुप्रै राम्रा विषय संविधानमा लेखिएको छ । तर ‘कानुनमा व्यवस्था भएअनुसार गरिनेछ’ भनेर राखिदिएपछि कानुन नै  फितलो बन्यो भने कार्यान्वयन हुँदैन । कतिपय कानुन नबनेर पनि राम्रोसँग कार्यान्वयन हुन सकेको छैन । सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अहिलेसम्म पनि निजामती सेवासम्बन्धी ऐन नबन्नु र वित्तीय सङ्घीयताका कतिपय विषय ठीक ढङ्गले कार्यान्वयन नहुनुले समस्या भएकै हो ।
 
यो व्यवस्था नै खराब छ भन्नेतिर कोही जान खोजेका छन्, तर यो सत्य होइन । यसमा राजनीतिक नेतृत्वले क्रान्तिकारी उभारका बेला दूरदृष्टि देखाउन सकेको थियो, क्रान्तिपछि शिथिलता आउँछ, यो विज्ञानको नियम हो । क्रान्तिकारी नेतृत्व शिथिल हुनु आदि कारणले पनि त्यस्तो भयो । अर्को सम्झौताबाट संविधान बनायौँ, पुरानै सत्तामा रहेको शक्ति र पछि उदय भएर आएको शक्तिका बीचमा सम्झौता हुँदा मध्यमार्गी बाटो लिइएको हो । यसले गर्दा पनि ठीक ढङ्गले कार्यान्वयन हुन नसकेको हो । त्यसकारण असन्तुष्टि आउनुलाई अन्यथा लिन हुँदैन ।
 
तीन तहका सरकारबीचको कामकारबाहीमा एकरुपता, सम्बन्धमा हार्दिकता र एकापसमा तालमेल हुन नसकेको देखिन्छ । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?
 
–पहिलो त सङ्घीयतासम्बन्धी बुझाइमा अझै प्रस्टता छैन । हिजो पनि दलहरूबीच नेपाल जस्तो सानो देशमा किन सङ्घीयता चाहियो भन्ने बुझाइ थियो । सानो र ठूलाका आधारमा सङ्घीयता हुने हैन, देशको जातीय, भाषिक र क्षेत्रीय बनोटका आधारमा विविधतायुक्त छ भने विविधतालाई सम्बोधन गर्न सङ्घीयतामा जाने हो । यो विषय हामीले धेरैलाई बुझाउन सकेका छैनौँ । पछिल्लो पुस्ता झन् गहिराइमा बुझ्न नसकेर सङ्घीयता नै आवश्यक छैन भन्नेतिर जान खोजेको छ, त्यो सत्य होइन । स्विट्जरल्यान्ड, बेल्जियमजस्ता हामीभन्दा साना मुलुकमा सङ्घीयता हुनु तर चीनजस्तो ठूलो देशमा सङ्घीयता नहुनु भनेको, जातीय, क्षेत्रीय, भाषिक एकरूपता छ भने सङ्घीयता चाहिँदैन, विकेन्द्रीकरण गरे हुन्छ । भाषिक र जातीय विविधता भएका मुलुकमा भने सङ्घीयता चाहिन्छ । पहिले विषय बुझ्नु जरुरी छ । विषयको अस्पष्टताले गर्दा नेतृत्वमा आउने व्यक्तिमा सङ्घीयता कार्यान्वयनमा अनिच्छा देखिएको छ । बेलेमै कानुन नबन्नुलगायत कारणले कार्यान्वयनमा अस्पष्टता आएको हो । यसलाई हामीले छिटो हल गर्नुपर्छ ।
 
संविधान जारी भएयता राजनीतिक स्थायित्व देखिँदैन, जनताको जीवनस्तर पनि त्यति सुधार भएको जस्तो देखिँदैन, आर्थिक गतिविधि सुस्त छ, यसमा संविधान वा शासनसत्ता सञ्चालन गर्ने व्यक्तित्व कसको दोष मान्नु हुन्छ ?
 
–यसलाई ‘सेतो र कालो’का रूपमा हेर्नु हुँदैन । समस्या अन्तरसम्बन्धित हुन्छन् । संविधानका केही त्रुटिलाई संशोधन गरेर सच्याउनुपर्छ । शासकीय स्वरूपलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा लैजाने, सङ्घीयतालाई पहिचान र सामथ्र्यका आधारमा पुनः परिभाषित गर्ने तथा राज्यका कतिपय अङ्गलाई व्यवस्थित गर्ने गरी संविधानमै सुधार गर्नुपर्छ । सङ्घीयतालाई राम्रोसँग आत्मसात् गर्ने राजनीतिक नेतृत्व नहुँदा पनि समस्या पैदा भएको छ । हामीले सम्झौताबाट संविधान बनायौँ, अगुवा शक्तिको नेतृत्व हुँदा ठीक ढङ्गले कार्यान्वयन हुन्छ र संस्थाहरू बन्छन् । जो यो संविधानमा जबर्जस्ती तानिएर आएका छन्, जसको संविधानको मूलभूत विषयवस्तुप्रति प्रतिबद्धता छैन, उनीहरू नेतृत्वमा हुँदा स्वतः नै ठीक ढङ्गले कार्यान्वयन हुँदैन । राजनीतिक परिवर्तन र मूल ढोका खोल्ने मात्रै हो तर आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन भनेको चाहिँ अलि जटिल र दीर्घकालीन प्रकृतिको हुन्छ । त्यसलाई बेलैमा बुझेर राजनीतिक नेतृत्वले ठीक ढङ्गले योजना बनाउन र मुख्यतः आर्थिक पछौटेपनलाई अन्त्य गर्न सक्नुपर्छ, त्यसमा नेतृत्वको कमजोरी हो । अहिलेको विश्व अन्तरसम्बन्धित छ, हाम्रो आफ्नै देशले मात्रै एक्लै गर्छु भनेर हुँदैन, सुगौली सन्धियता नेपाल जसरी भारतवेष्टित रूपमा रहेको छ, खुला सिमाना, ऐतिहासिक ढङ्गले बनेको असमान सम्बन्धलाई नसच्याएसम्म नेपालभित्रको प्रक्रियाले मात्रै पनि हुँदैन । पछिल्लो चरणमा उदीयमान चीन र भारतका बीचमा हामी छौँ, अहिलेको युगअनुसार वैदेशिक सम्बन्धलाई पनि सच्याएर लान सक्नुपर्छ । आर्थिक विकासको गतिमा देखिएको कमीका कारण जनतामा निराशा पैदा भएको हो । यसलाई दूरदर्शी नेतृत्वले बुझेर हल गर्नुपर्छ ।
 
विस्तृत शान्ति सम्झौतामार्फत नेपालमा १० वर्षे जनयुद्ध समाप्त भयो, तर अझै पनि शान्ति प्रक्रियाका कतिपय विषय अझै टुङ्गोमा पुग्न सकेको छैन, यसमा यहाँको धारणा के छ ?
 
–हामीले नेपालको क्रान्तिलाई सम्झौतामार्फत अगाडि बढाएका हौँ । परम्परागत राजावादी शक्ति, बीचका संसदीय सुधारवादी लोकतन्त्रवादी शक्ति र अर्को क्रान्तिकारी प्रगतिशील वामपन्थी शक्तिको द्वन्द्वका बीचमा नै हामीले १२ बुँदे र शान्ति सम्झौता जुन ग¥यौँ, त्यसअन्तर्गत राजतन्त्रको अन्त्य गरी संसदीय शक्ति र अग्रगामी क्रान्तिकारी शक्ति बीचको सम्झौताबाट संविधानको यो बाटो अपनायौँ, यी दुई शक्तिका बीचमा तालमेल ठीक ढङ्गले नमिल्नु, नेतृत्वमा सत्ता लिप्सा देखापर्नु, क्रान्तिकारी आन्दोलनभित्र पनि स्खलन देखापर्नु आदि कारणले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न ढिला भइरहेको छ । यसलाई ढिलो गरिनु हुँदैन । खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमार्फत त्यसलाई हल गर्ने भनेर हामीले मौलिक विधि शान्ति सम्झौतादेखि नै संविधानमा समेत व्यवस्था गरेका छौँ । छिट्टै यसलाई हल गर्नुपर्छ । बाह्रबुँदे समझदारीपछि यताका मूलभूत शक्तिले नै यस संविधानलाई कार्यान्वयन गर्ने र शान्ति प्रक्रिया पूरा गर्ने मुख्य जिम्मेवारी लिनुपर्छ । नयाँ आउने पुस्ताको जुन नयाँ आकाङ्क्षा छ, पुराना कुरा त्यति बुझ्दैनन्, उनीहरूलाई पनि यसको महत्वबोध गराएर इतिहासलाई अगाडि बढाउनुपर्छ ।
 
 
वर्तमान संविधानअनुसार दुईपटक निर्वाचन भइसक्दा पनि विकास निर्माणले गति लिन सकेको छैन, आर्थिक गतिविधि सुस्त छ, युवा पलायन बढ्दो छ । राज्यसँग साधन स्रोत कम भएका अवस्थामा देशलाई सहज ढङ्गबाट अगाडि बढाउन र युवालाई यही देशमा बस्ने वातावरण बनाउन के गर्नुपर्ला ?
 
–गम्भीर विषय यही छ, यति ठूलो क्रान्तिकारी राजनीतिक परिवर्तनपछि देशमा स्थिर प्रकृतिको सरकार र दूरदृष्टियुक्त राजनीतिक नेतृत्वको आवश्यकता थियो । दुर्भाग्य के भयो भने शान्ति प्रक्रियापछि राजनीतिक स्थिरता ठीक ढङ्गले कार्यान्वयन गर्न सकेनौँ, सङ्क्रमणकाल लम्बिँदै गयो, राजनीतिक नेतृत्वले हिजो व्यवस्था परिवर्तनका लागि युद्ध लड्दा, आन्दोलन गर्दा जुन खालको दक्षता, जेलनेल, दुःख कष्ट गर्ने क्षमता देखाएको थियो, अब त यहाँको आर्थिक विकास, समृद्धि र सामाजिक आर्थिक रूपान्तरणको पछिल्लो ज्ञानविज्ञान र प्रविधिमा पोख्त भएको नेतृत्वको आवश्यकता थियो । हाम्रो नेतृत्वले आफूलाई रूपान्तरण गर्न पनि सकेन, नयाँलाई अगाडि ल्याउने बाटो पनि खोलिदिएन । त्यसैले यस समस्याको मुख्य कारण नेतृत्वको सङ्कट नै हो । हामीले छिटोभन्दा छिटो अहिलेको राजनीतिक नेतृत्वलाई त्यो बोध गराउनुपर्छ या यसलाई विस्थापित गरेर अहिलेको युग सुहाउँदो, देश र अन्तरराष्ट्रिय परिस्थितिलाई बुझ्ने, विज्ञान र प्रविधिलाई ठीक ढङ्गले बुझेको नयाँ नेतृत्व देशमा आउनुपर्छ ।
 
नेपाल बन्नै सक्दैन भन्ने होइन । म आफू क्षेत्रीय विकास योजनाको विद्यार्थी हुनाको नाताले अर्थमन्त्री छँदा देशको खाका कोरिएको थियो, प्रधानमन्त्री छँदा संसद् नहुनाले ऐन कानुन बनाएर बजेट पेस गर्न पाइएन । तर पनि कतिपय पहल थालिएको थियो । रूपान्तरणकारी योजना सुरु गरिएको थियो । कृषि प्रधान अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रमा लाने हो भने हामीले सुरुका चरणमा पूर्वाधारमा नै लगानी गर्नुपर्छ । सडक, सिँचाइ, हवाई, जलविद्युत्, शिक्षा र स्वास्थ्यका पूर्वाधारमा लगानी गरेर मात्रै कृषिप्रधान अर्थतन्त्रलाई बजारसँग जोड्ने र औद्योगिक अर्थतन्त्रमा रूपान्तरण गर्ने बाटो खुल्छ । विकासको यस विषयलाई बुझेर मैले त्यसो गरेको हुँ । तर त्यसपछिका सरकारले यसको महत्त्व नै बुझेनन् । राष्ट्रिय गौरवका आयोजना कुनै पनि पूरा गर्न सकेका छैनौँ । हाम्रो ध्यान त्यहाँ जानुपथ्र्यो । सँगसँगै अहिलेको युगमा श्रम र प्राकृतिक साधनस्रोत हामीसँग छ तर पूँजी र प्रविधिको कमी छ, त्यसो भएकाले हाम्रो नेतृत्वले यस्तो बेलामा खासगरी दुई ठूला छिमेकी र पश्चिमा शक्तिसँग सन्तुलित सम्बन्ध राखेर तिनीहरूबाट पूँजी र प्रविधि आयात गर्ने र यहाँबाट वस्तु र सेवा निर्यात गर्ने विकासको नीति लिन सक्नुपथ्र्यो । त्यो राजनीतिक नेतृत्वको दूरदृष्टिको अभावकै कारणले यो समस्या आएको हो । यसको हल गर्न सकिन्छ । युवा पलायन भएर हुँदैन । युवा यहीँ नै बसेर यसलाई बदल्नका निम्ति योगदान गर्नुपर्छ । नेपाल बन्छ भन्नेमा म विश्वस्त छु ।
 
प्रधानमन्त्रीको अध्यक्षता रहने लगानी बोर्ड छ । पूर्वाधार विकासका क्षेत्रमा विदेशी लगानी त्यति आउन सकेको छैन । निजी क्षेत्र पनि आकर्षित भइरहेको अवस्था छैन । समस्या कहाँनेर छ ?
 
–समस्या नीतिगत रूपमै छ । टुक्रेटाक्रे कुनै मन्त्रालय वा विभागभित्र राखेर विकासको गति अगाडि बढ्दैन । त्यसैले मैले सुरुमा उच्चस्तरीय विकासको प्राधिकरण बनाऔँ, त्यसले सिधै कार्यकारी प्रमुख मातहत रहेको विकास प्राधिकरण बनाऔँ र त्यसले सबै मन्त्रालयलाई समन्वय गर्न सक्ने र राष्ट्रिय अन्तरराष्ट्रिय पूँजी र प्रविधि तथा विज्ञको परिचालन गरेर देशको विकासको दीर्घकालीन रणनीति बनाउन सकोस्, जस्तै पूर्वाधार, जलस्रोत, शिक्षा, स्वास्थ्य, कृषिको वैज्ञानिकीकरण, आद्यौगिकीकरण, सामाजिक क्षेत्रको विकासको रणनीति बनाउन सकोस् भनेको थिएँ ।
 
विदेशी पूँजी र प्रविधि नल्याएसम्म देश बन्दैन । खासगरी भारत र चीन ठूला अर्थतन्त्रका रूपमा अगाडि आइरहेका छन् । चीन छिट्टै पहिलो तथा भारत तेस्रो अर्थतन्त्र बन्दैछ । दुई अर्बभन्दा बढीको बजार हाम्रो छेउछाउमा छ । यी दुई मुलुक जोड्ने पुलका रूपमा विकास गरौँ । हिजोको जस्तो दुई ढुङ्गाबीचको तरुल होइन, दुई सागरलाई जोड्ने सेतुका रुपमा नेपाल बनाऔँ भनेर मैले यो अवधारणा अगाडि सारेको हो । दुवै मुलुकमा मूल्य शृङ्खलासम्म जोड्ने ढङ्गले पूँजी र प्रविधि ल्याउनका निम्ति अधिकार सम्पन्न लगानी बोर्ड बनाऔँ, त्यसले सिधै लगानीको निर्णय गर्न सक्छ भनेर मैले अवधारणा ल्याएको थिएँ तर विकास प्राधिकरणको अवधारणा त साथीहरूले अगाडि बढाउन चाहनुभएन । मैले पछिल्लो पटक पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएको थिएँ । जुन लगानी बोर्ड बन्यो, त्यसको कानुन निम्छरो बन्यो, त्यसले गर्दा लगानी पनि त्यसअनुसार आउन सकेन । नीतिगत रूपमा नै यसलाई सच्याउनुपर्छ । त्यसो गर्न सकिएन भने पुरानै बाटो हिँडेर नयाँ ठाउँमा पुग्न सकिँदैन ।
 
भिडियो-