Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

ओलीलाई रवि लामिछानेको जवाफ : राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईंकै नेतालाई भोट दिने भोटर कस्ता?

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित पार्टीको नीति मन्थन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नीति, विचार नभएको नयाँ दललाई भोट दिन जनता पनि कस्ता भन्ने अभिव्यक्तिप्रति टिप्पणी गरेका हुन् ।  सोमबार एमालेको पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले नयाँ दलप्रति लक्षित गर्दै नीति, विचार र सिद्धान्त नभएका दलहरूलाई भोट दिने जनता पनि कस्ता? भन्ने अभिव्यक्ति दिएका थिए । 

सोही अभिव्यक्तिलाई लिएर सभापति लामिछानेले 'आफ्ना नेताहरू भ्रष्टाचारको आरोपमा जेल बसिसक्दा, राष्ट्रको ढुकुटी रित्याउँदा हरेक क्षेत्रको इन्डिकेटरलाई रेडमा पुर्‍याउँदा अझै पनि तपाईंकै दललाई भोट हालिरहने? तपाईंकै नेतालाई भोट हालिरहने? ती भोटर चाहीँ कस्ता?' भन्ने प्रश्न गरे । सभापति लामिछानेले जनताले परिवर्तन चाहँदा चाहँदै पनि पुराना राजनीतिक दलको विश्वासलाई निमिट्यान्न नपारेको बताए ।