सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङ्बोलाई आघि सार्ने निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको एक नेताले जानकारी दिए ।
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो । सत्ता गठबन्धनमा आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति भएपनि नेपाली कांग्रेसभित्र भने विवाद मिलिसकेको छैन । कांग्रेसभित्र शेखर कोइराला पक्षधरले नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउनु पर्ने बताउँदै आएको छ ।
कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र किचलो सुरू भएको छ । माओवादीललाई मुख्यमन्त्री दिने गठबन्धनको निर्णय नेपाली कांग्रेसको शेखर कोइराला पक्षले नमान्ने भएको छ । कोइराला पक्षले कांग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै आएको छ । उनलाई शेखर कोइरालाले साथ दिएका छन् ।
सत्ता गठबन्धनले आङ्बोलाई मुख्यमन्त्री दिने निर्णयमा शेखर कोइराला समूहका ९ जना सांसदहरू असन्तुष्ट देखिएका हुन्। स्रोतका अनुसार कोशी प्रदेशमा केदार कार्की,शमशेर राई, गोविन्द गिरी,लीला राई,रामकुमार खत्री,गयानन्द मण्डल,इन्दिरा थापा,मानबहादुर लिम्बू र सुनिता गुरुङले गठबन्धनको निर्णयको विपक्षमा उभिने तयारी गरेका हुन्। उनीहरु सबै शेखर कोइराला पक्षमा सांसद हुन्।
केदार पक्षका एक सांसदले आजै नेकपा एमालेसँग छलफल गरेर आफ्नो रणनीति तय गर्ने जनाएका छन् । उनले ८ सांसद्को समर्थन पाएमा आफ्नो पक्षलाई मुख्यमन्त्री दिन एमाले तयार रहेको समेत दाबी गरेका छन् । कोशीका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले भोलि साँझ ५ बजेसम्म ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गर्न समय दिएका छन् । कोशीमा सबैभन्दा ठूलो दल नेकपा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका एक सांसद छन् ।