Jul 19 2026

Jul 19 2026 | आइतवार, श्रावण ३ गते २०८३

इजरायल आक्रमणमा नौं नेपाली घाइते, दुईको अवस्था गम्भीर

‘आफ्नो ख्याल राख्नु, सुरक्षा निकायको निर्देशन पालना गर्नु’

इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले रकेट आक्रमण गर्दा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले नौं जना नेपाली घाइते भएको जनाइको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । सो स्थानमा १४ जना नेपाली रहेकोमा ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्रले जनाएको छ ।

150817851387323689_1334888413787558_8299993478266412166_n.webp

परराष्ट्रले आक्रमण क्षेत्रमा रहेका नेपाली र घाइते नेपालीको उद्धारका लागि समन्वय गरिरहेको जनाएको छ । आज बिहानै हमासले इजरायलका विभिन्न शहरमा ५ हजार रकेट प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कम्तिमा ४० जना इजरेली नागरिकको मृत्यु भएको समेत बताइएको छ । ५७० घाइते समेत भएका छन् । यस्तै इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा एक सय ९८ जना मारिएका र एक हजार जना भन्दा धेरै घाइते भएका इजरायली सेनाले दाबी गरेको छ ।

हमासको आक्रमणपछि इजरायली प्रधानमन्त्री वेन्जामिन न्यतन्याहुले युद्धको घोषणा गरेका छन् । इजरेली लडाकु विमानले हमासको नियन्त्रणमा रहेको गाजामा हवाइ आक्रमण गरेको जनाइएको छ । नेपाल सरकारले इजरायलमा भएको आक्रमणको कडा शब्दमा निन्दा समेत गरेको छ । हमासले जिम्मा लिएको सो आक्रमणलाई नेपालले आतंकवादी आक्रमण भनेको छ ।

‘आफ्नो ख्याल राख्नु, सुरक्षा निकायको निर्देशन पालना गर्नु’
इजरायलमा रहेको नेपाली राजदूतावासले आफ्नो सुरक्षाको ख्याल राख्ने र स्थानीय निकायको निर्देशन पालना गर्न नेपाली समुदायमा आग्रह गरेको छ ।

इजरायलको गाजासँगको सीमाना लगायत विभिन्न क्षेत्रमा अहिले द्वन्द्व चलिरहेको भन्दै राजदूतावासले यस्तो आग्रह गरेको हो । ’यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन नेपाली समुदायमा अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।

Screenshot_2023-10-07-20-49-16-80_a23b203fd3aafc6dcb84e438dda678b6_tmT2mCxnjo-1.webp

अप्ठ्यारोमा परेका नेपालीको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय भइरहेको राजदूतावासले जनाएको छ । अहिले अप्ठ्यारो परिस्थिति रहेको भन्दै राजदूतावासले यसको नकारात्मक सन्देश जाने गरी सामाजिक सञ्जालमा केही सामग्री साझा नगर्न पनि आग्रह गरेको छ ।

इजरायलमा रहेका नेपालीले राजदूतावासका प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४–५५८२०७७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।