Jul 20 2026

Jul 20 2026 | सोमवार, श्रावण ४ गते २०८३

एमाले भनेको आँपको रुखजस्तो हो,कांग्रेस मेवाको रुखजस्तो:  ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पुरानो भएको दाबी गरेका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेसलाई मेवा र एमालेलाई आँपको रुखसँग तुलना गरे ।

“तपाईंले आँपको रुख र मेवाको रुखसँगै लगाउनुभयो भने मेवाको रुख छिट्टै बढ्छ, छिट्टै फल्छ, छिट्टै बुढो हुन्छ । आँपको रुख बिस्तारै बढ्छ । धेरै वर्षसम्म फलिरहन्छ । एमाले भनेको आँपको रुखजस्तो हो,” उनले भने, “कांग्रेस मेवाको रुखजस्तो ।” उनले कांग्रेसले आफूसँग कति सिट छ भन्ने समेत थाहा पाउन छाडेको आरोप लगाए ।

“कांग्रेस साँच्चै पुरानो भयो । साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । ८७ सिट छ, तर ३२ सिटको पछाडि लुरुलुरु लागेको छ,” ओलीले भने, “उहिले हजुरबाले बलियो बलियो काम पनि गथ्र्यो होला, अहिले बुढो भएपछि नातिको पछाडि हिँड्नुपर्यो नि । त्यस्तै निरीह भएको छ कांग्रेस । आफूसँग कति सिट छ पनि चाल पाउँदैन ।”

ओलीले नेकपा (माओवादी केन्द्र) ‘मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो’ भन्ने जस्तो भएको टिप्पणी गरे । “मजदुरले बाटो बनायो, अर्कैले मोटर कुदायो । माओवादीमा त्यस्तै भएको छ । माओवादी कार्यकर्ताले पार्टी बनाए । सरकार बनाए,” ओलीले भने, “अनेक चिज गरे । तर, छोरी ज्वाइँ, भाइ भतिजा, भान्जा यस्तैको चलेको छ । पीडित माओवादी कार्याकर्ता तड्पिएका छन् ।”

उनले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भने कांग्रेस, माओवादी केन्द्रको पछि लाग्न स्वभाविक हुने बताए ।