Jun 04 2026

Jun 04 2026 | बिहिवार, जेठ २१ गते २०८३

छायाँनाथ यातायातका गाडी सञ्चालनपछि हुम्लीमा यात्रा सहज

कुनै बेला अति दुर्गम मानिएको कर्णाली प्रदेशको हुम्ला जिल्लाका विभिन्न बस्तीहरुमा पछिल्लो समय धमाधम सडक सञ्जाल जोडिन थालेपछि चहलपहल बढेको छ । मानिसहरु एक स्थानबाट अर्को स्थानमा जाने क्रम पनि बढ्दो क्रममा छ । यसका लागि सडक सञ्जालले सहयोग गरेको छ ।

चहलपहल बढ्न थालेपछि दसैँ र तिहारलाई मध्यनजर गर्दै हुम्लाको चंखेली गाउँपालिका–२ मा छायाँनाथ यातायात प्रालिले शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिगतमा औषधिउपचार गर्न आफन्त र भेटघाट गर्न मुगु जिल्लाको सदरमुकाम गमगढी बजारसम्म पुग्न २ दिन लाग्ने गर्थ्यो । अचेल भने गमगढीबाट हुम्लाको चंखेली, लोतीसम्म जिप चल्न थालेको छ ।

IMG_6812.JPG

यसले गर्दा एक गाउँबाट अर्को गाउँ जान र मुगुको सदरमुकाम गमगढी पुग्न सहज भएको छ । गमगढी पुग्न अब ४ घण्टाको यात्रा गरे पुग्ने भएको चंखेली गाउँपालिका नेपाली कांग्रेसका गाउँ सभापति नरबहादुर भण्डारीले बताए । छायाँनाथ यातायात प्रालिले दैनिक ५–६ वटा जिप चलाउन थालेपछि सहज भएको उनको भनाइ छ ।

स्थानीय स्तरमै शाखा स्थापना गरी दैनिक साना गाढी चल्न थालेपछि निकै सहज भएको स्थानीय भीमबहादुर शाहीले बताए । भाडा भने अलि महंगो भएको उनको गुनासो छ । हुम्लीबासीलाई सहज होस् भनेर चंखेली गाउँपालिकामा शाखा कार्यालय सञ्चालन गरी ६०–६२ किलोमिटर दूरीसम्म दैनिक ५–६ वटा साना गाढी सञ्चालन गरिएको छायाँ यातायातले जनाएको छ ।

उक्त यातायातको गमगढीमा प्रधान कार्यालय एवं अन्य जिल्ला र जिल्लाभित्रै गरी ७ वटा शाखा कार्यालय सञ्चालनमा छन् । कर्णाली राजमार्गको नाम्मदेखि गमगढी बजारसम्म अस्थायी रुट परमिटमा सवारी चल्दै आइरहेको छायाँनाथ यातायात प्रालिका सचिव सन्तोष शाहीले बताए ।

IMG_6912.JPG

दुई वर्षअघि ग्रामीण पहुँच रेया थ्रीले निर्माण गरेको सडकमा गाढीहरु गुडिरहेका छन् । बीच बीचमा वर्षाले बिगारेका कारण कतिपय सडक खण्ड अव्यवस्थित छन् । त्यस्ता स्थानमा स्थानीय तहले मर्मत र प्रदेश सरकारले सडक व्यवस्थित गरिदिए यात्रा गर्न सहज हुने स्थानीय बासिन्दाको भनाइ छ ।